उत्तर कोरिया–अमेरिका शिखर वार्ता भियतनाममा गर्न ट्रम्पको प्रस्ताव

4.94K
shares

टोकियो। संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–उनसँग आगामी फेब्रुअरी मध्यतिर दोस्रो शिखर बैठक गर्न प्रस्ताव गरेका छन् । उनले शिखर बैठक भियतनाममा हुनसक्ने बताउनुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। उत्तर कोरियाको आणविक निःशस्त्रीकरण कार्यक्रमलाई लिएर विवाद उत्पन्न भइरहेको सन्दर्भमा दुबै मुलुकबीच दोस्रो शिखर बैठक हुने अनुमान गरिएको थियो।

यसअघि ऐतिहासिक पहिलो शिखर बैठक गत वर्ष जुनमा सिंगापुरमा भएको थियो। उत्तर कोरियाले अमेरिकी प्रस्तावमाथि अध्ययन गरिरहेको र त्यसप्रति औपचारिक प्रतिक्रिया दिनेक्रममा रहेको जापानको अखबार योमुरी शिम्बुनले सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार प्रकाशन गरेको छ। प्योङयाङ र वासिङटनबीच पहिलो शिखर बैठकमा भएका सहमतिको कार्यान्वयनलाई लिएर दुबै मुलुकबीच घनीभूत छलफलमा छन् । उक्त सहमतिमा नेता कीमले उत्तर कोरियाको सुरक्षा प्रत्याभूति भए पूर्ण आणविक निःशस्त्रीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा नभएकामा उत्तर कोरियाली नेता कीमले निरन्तर असन्तुष्टी व्यक्त गरिरहेका छन् जबकी अमेरिकाले आणविक निःशस्त्रीकरण कार्यक्रमको पूर्ण पालना नहुँदासम्म प्रतिबन्धहरु फुकुवा नहुने अडान राखेको छ। ट्रम्प र कीमको दोस्रो शिखर बैठकले यी असमझदारी हटाउने र उत्तर कोरियामाथिका प्रतिबन्ध फुकुवा हुने अपेक्षा धेरैले गरेका छन्। दुबै नेताको शिखर बैठकका लागि दक्षिण पूर्वी एसियाका मुलुकहरुले तीव्र इच्छा व्यक्त गरेका छन् जसमा भियतनाम, इन्डोनेसिया र मङ्गोलिया अग्रस्थानमा छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083