संगठन एकता भई सक्यो, औपचारिकता पूरा गर्न मात्र बाँकी छ : रञ्जीत तामाङ
वि.सं.२०७५ माघ १ मंगलवार १३:४८
shares

काठमाडौ । । लामो समय देखि एकताको बहस चल्दै, सेलाउँदै र पुन : चलि रहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट दुई विद्यार्थी संगठन अनेरास्ववियु र अखिल (क्रान्तिकारी) स्ववियु निर्वाचनको तयारीमा छन् । पार्टीले एकताका लागि निर्माण गरेको कार्यदलले समेत एकीकरण प्रक्रिया अघि नबढाए पछि दुवै संगठनका कार्यकर्ता तहमा नैराश्यता पनि बढेको देखिन्छ ।
दुई अखिलको एकता, स्ववियु निर्वाचन तथा विद्यार्थी आन्दोलनका विविध प्रसंगमा केन्द्रित रहेर अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जीत तामाङसँग गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ :
दुई अखिलको एकता खास किन रोकिइ रहेको छ ? कहिले टुंगिएला ?
लामो समय फरक राजनीतिक आस्था र कित्तामा रहँदै भिन्न पृष्ठ भूमिबाट हुर्केका विद्यार्थी संगठन भएकाले एकता प्रक्रियामा विलम्ब हुनु अन्यथा होइन । तथापि एकताको स्पिड केही सुस्त भएको हो कि भन्ने चैँ अनुभूति भएको छ । एकता रोकिइ रहेको भन्दा पनि तिव्र गतिमा अघि नबढ्नुमा चाहिँ खास गरी सरकार सञ्चालनमा नेताहरुको व्यस्तता मुख्य कारण हो र यस्तै देखिएको छ ।
एकीकरणको जिम्मा पाएका र कार्यदलमा रहेका नेताहरु समेत राज्यका विभिन्न जिम्मेवारीमा रहनु भएकाले ढिलाइ भइ रहेको भन्ने बुझाइ छ । दुवै संगठनका नेताहरुको योग्यता र क्षमताका आधारमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पार्टीमा समेत गहिरो र मसिनो छलफल चलि रहेका कारण एकतामा ढिलाई भइ रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ । त्यस्तै, एकीकृत संगठन पछिको नेतृत्वको विषयमा पार्टीको पनि नेतृत्व तहमा छलफल चलि रहेको होला, त्यस कारण चाँडै टुंगिने कुरामा विश्वास गरौँ ।
एकता पछि बन्ने संयुक्त अखिलको संरचना कस्तो हुनेछ ? सम्भावित मोडालिटीबारे बताउन मिल्छ ?
जसरी पार्टी एकताका लागि कार्यदल बनेको थियो, ठीक त्यसै गरी हाम्रो पनि कार्यदल बनेर नै धैरै विषय टुंग्याउँदै आएका छौँ । दुवै संगठनलाई पार्टीका तर्फबाट समन्वय गर्ने नेताहरु रवीन्द्र अधिकारी र रमेश मल्ल तथा नवीना लामाजी र म रहेको कार्यदलले संगठनको नाम अनेरास्ववियू (दीर्घ) राख्ने र विधान तथा भावी कार्यदिशा जस्ता एकताका आधार स्तम्भमा सहमति भइ सकेको छ । संयुक्त अखिलको केन्द्रीय समिति अखिलका तर्फबाट २६० र क्रान्तिकारीका तर्फबाट २३९ जोडिएर ४९९ सदस्यीय बनाउने विषय पनि टुंग्याइ सकेका छौँ ।
त्यस्तै, मुलुकको शासकीय स्वरुप अनुसार नै प्रदेश कमिटीलाई कार्यकारी बनाउने, जिल्ला एवम् स्थानीय कमिटी बनाउने र सबै कमिटीको सुझबुझपूर्ण नेतृत्व बाँडफाँड गर्ने लगायतका संरचनागत विषय टुंग्याइएका छन् । इतिहासमै हामीले गरेका व्यवस्था परिवर्तन लगायतका सबै संघर्ष र आन्दोलनहरु समय सापेक्ष रहेको निष्कर्ष निकाल्दै अबको विद्यार्थी आन्दोलनलाई जनजीविका, राष्ट्रियता, आर्थिक विकास र जनवादी शिक्षा प्राप्तितर्फ केन्द्रित गर्ने विषयमा हाम्रो एकमत छ ।
त्यस्तै, अब बन्द, हड्ताल र चक्काजाम लगायतमा हामीले देशको राजनीतिक परिवर्तनका लागि विगतमा अपनाएका विरोधका शैली समेत त्यागेर रचनात्मक र सिर्जनात्मक दबाब समूहको भूमिका निर्वाह गर्दै अघि बढ्ने हाम्रो निष्कर्ष छ । शैक्षिक कार्यदिशाका रुपमा समाजवादी शिक्षाको स्पष्ट गन्तव्यमा पुग्ने लक्ष्यमा त झन दुई मत नै भएन ।
स्ववियु चुनावको तयारी गर्नु पर्ने बेला एकीकरणकै अन्योलतामा फस्नु भयो । निर्वाचनमा तपाईंहरुको पर्फमेन्स कमजोर हुने हो कि ?
त्यस्तो हुँदैन, किन भने हामी एक हुने भन्ने कुरा त टुंगि सक्यो नि । एकता भइ सकेकै रुपमा बुझ्दा हुन्छ । किनकी केवल औपचारिकता मात्रै बाँकी हो । औपचारिकता पाउने बित्तिकै हामी सबै कमिटी मर्ज प्रक्रिया थाल्छौँ । धैरैमा एक हप्ता भित्र हामी कमिटीहरु मर्ज सक्छौँ । सकिएन भने पनि स्ववियु निर्वाचनमा देशै भरि हामीले जित्ने वातावरण बनाउन संयुक्त कार्यदल बनाएर जान सक्छौँ । त्यसैले स्ववियु अघि एकता नटुंगिदा पनि मनोविज्ञान एक भइ सकेकाले हाम्रो पर्फमेन्समा कुनै कमी आउँदैन । अहिलेको हाम्रा मूलभूत कार्यभारहरुमा पहिलो एकता हो भने दोस्रो स्ववियु निर्वाचन नै हो ।
तर संगठन एकताको अन्योलताले क्याम्पसहरुमा दुवै संगठनका गतिविधि सुस्त छन्, यही अवस्थामा निर्वाचन हुँदा तपाईंले भने जस्तै जीत हासिल गर्न कठिन हुँदैन र ?
हो, केही सुस्तता देखिएको पक्कै हो । हाम्रो एकता अनिवार्य हुने भएकाले क्याम्पसहरुमा साथीहरुमा पनि एकता के, कसो र कहिले हुने हो भन्नेमा केही अन्योलता देखिएको छ । एकता नटुंगिएकाले प्रष्ट कार्ययोजना बनाएर चुनावमा केन्द्रित हुन हामीलाई पनि अलिकति असजिलो भइ रहेको सत्य हो । तर दुवै संगठनहरु आआफ्नै ढंगले विद्यार्थीबीचमा गतिविधि गरि रहेका कारण कुनै कठिनाइ आउँदैन । क्याम्पसमा गतिविधि गरि रहेको छौँ, तिनलाई औपचारिक एकतामा कसेर संयुक्त फोर्स निर्माण गर्ने बित्तिकै हामी निकै बलियो भइ हाल्छौँ ।
यस पटकको स्ववियु निर्वाचनमा तपाईंहरुका एजेण्डाहरु के के हुन् ?
नेपाली विद्यार्थी आन्दोलनले लामो समय देखि उठाउँदै आएको राजनीतिक परिवर्तन हामीले सम्पन्न गरि सकेका छौँ । अब हामीले त्यही परिवर्तनमा टेकेर मुलुकमा व्याप्त बेरोजगारी, अशिक्षा, गरिबी लगायतका समस्या निराकरणका लागि समृद्धिको अभियान शुरु गर्नु पर्ने बेला आएको छ । खास गरी, शिक्षामा आमूल परिवर्तनको एजेण्डा आज पनि उत्तिकै उठाइ रहनु पर्ने देखिन्छ ।
शिक्षामा समानता कायम गर्नु पर्नेछ, सरकारी शिक्षालाई निशुल्क बनाउनु पर्नेछ, निजी शिक्षाको नियमन गर्नु पर्नेछ र प्राविधिक शिक्षालाई देशको दूरदराजसम्म पु¥याउनु पर्नेछ र उच्च शिक्षामा सबैको पहुँच आवश्यक छ । यसरी नेपालको शिक्षा क्षेत्रमा युगान्तकारी परिवर्तन गर्नु पर्नेछ । यसरी हामीले अहिले खास गरी शैक्षिक परिवर्तन, संविधानमा व्यवस्था गरिएका शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका मौलिक हक कार्यान्वयन र दक्ष रोजगारी बढाउनु पर्ने विषयलाई उच्च प्राथमिकताका साथ उठाइ रहेका छौँ ।
प्रसँग बदलौं, दुई तिहाई जनमतसहितको सरकारले जनअपेक्षा बमोजिम काम गर्न नसकि रहेको प्रश्न सर्वत्र उठि रहेका बेला विद्यार्थी संगठनहरुको खबरदारी कतै सुनिएन, किन होला ?
पहिलो कुरा, जनताले यो सरकारलाई केही गर्न भनेर ५ वर्षको समय दिएका छन् । सरकार निर्माण भएको एक वर्ष पुगेको छ । त्यसैले अहिले हतार गरेर सरकारको आलोचना गर्नु पर्ने बेला भइ सकेको जस्तो लाग्दैन । सरकारले मुलुकको विकासको आधार तय गरि रहेको पनि सबैलाई थाहै छ। अर्को कुरा, खबरदारी भनेको के हो ? आज पनि ढुंगा, मुडा, बन्द र हड्ताललाई मात्रै खबरदारी गरेको मानियो भने त्यो मूर्खता हुनेछ ।
समय बदलिएको छ । विद्यार्थी संगठनलाई सडकमा नदेखेर केही मानिसलाई त्यस्तो लागेको होला । नेकपाको सरकार बन्ने बित्तिकै एकै चोटी फूमन्तर गरेर दशकौँ देखि अस्तव्यस्त बनाइएको मुलुक अचानक बन्ने पनि होइन । यद्यपि हामीले सरकारका केही अस्वाभाविक गतिविधि देखिँदा नेताहरुलाई र सरकारलाई सचेत बनाउने काम पनि गरि रहेकै छौँ । तर नेकपाले जे गर्छ, त्यो अरु कसैले गर्न सक्दैन ।
तर विद्यार्थी आन्दोलनले आफ्नो प्रतिपक्षीय भूमिका छोड्दै गएकाले यसको विघटन नै गरिनु पर्ने विषयमा जोड दिनेहरु पनि बढेका छन् नि ?
त्यस्तो होइन, नेपालको विद्यार्थी आन्दोलन मूलत : ३ वटा एजेण्डा बोक्दै आजसम्म आएको छ । राष्ट्रियता, गनतन्त्र र जनवादी शिक्षाका सवालहरुमा यो आन्दोलनले विगत देखि नै अगुवाई गर्दै आइ रहेको हो । आज त झन टड्कारो रुपमा नेपाली युवालाई आत्म निर्भरतामा जोड्नु पर्ने विषय थपिएको छ । ९२ प्रतिशत परनिर्भरतामा रहेको हाम्रो मुलुकमा स्वाधीन अर्थतन्त्र विकास गर्नु छ । आज पनि हाम्रा अगाडि यस्ता तमाम एजेण्डा छन् । तराईमा सीमा समस्या जस्ताको तस्तै छ ।
जनजीविकाका मुद्दा उत्तिकै ज्वलन्त देखिइ रहेका छन् । मुलुकमा भ्रष्टाचारको समस्या विकराल बन्ने खतरा छ । आज यस्ता सयौँ एजेण्डाले सशक्त विद्यार्थी आन्दोलन र खबरदारीको अपेक्षा गरिरहेका छन् । त्यसकारण आज पनि समाजमा वाचडगको भूिमका निर्वाह गर्न विद्यार्थी संगठनको आवश्यकता बढेको पूर्व विद्यार्थी नेता, बुद्धिजिवी र विश्लेषक सबैले बुझ्न आवश्यक छ।
अन्त्यमा, देशभरका दुवै संगठनका कार्यकर्तामा एकता पछि अखिलको अध्यक्ष को बन्ला ? नेतृत्वको बाँडफाँड कसरी हुन्छ भन्ने जिज्ञासा छ, रञ्जीत तामाङको सम्भावना कति छ ?
हो, एकताको संघारमै रहेकाले संगठनको अध्यक्ष को बन्ला भन्ने कौतुहलता साथीहरुमा छ । साथीहरुलाई के पनि थाहा हुनुपर्छ भने आजको नेकपाले राणाशासन वा राजतन्त्रकालको जस्तो कसैलाई टिपेर नेतृत्वमा ल्याउँदैन । पार्टीले व्यक्तिको योग्यता, क्षमता र ओहोदाका आधारमा दोहोरो जिम्मेवारीलाई समेत ध्यान दिएर नेताकार्यकर्ता व्यवस्थापन गर्ने मापदण्ड बनाएको छ ।
पार्टीको मापदण्ड अनुरुप नै अन्य जिम्मेवारी कतै पनि नभएको र अखिलको अध्यक्ष नवीना लामा सांसद बनि सक्नु भएकाले मेरो सम्भावना कति छ, आफैँ पनि आंकलन गर्न सक्नुहुन्छ । त्यस्तै, अन्य नेतृत्वको हकमा पनि पार्टीको जस्तै ९ जनाको कार्यालय बनाउने कि केही संख्या थप्ने भन्ने सन्दर्भमा नेतृत्वसँग छलफल भइ रहेको छ । कार्यालयको ‘वान थर्ड’ स्थायी कमिटी र स्थायी कमिटीको ‘वान थर्ड’ सचिवालय सहितको केन्द्रीय कमिटी बनाउने मोटामोटी सहमति भइ सकेको छ ।

























