नेपालको पहिलो खेल म्यान्मारसँग : महिला गोल्डकप प्रतियोगिता

4.41K
shares

काठमाडौँ । भारतको भूवनेश्वरमा माघ २६ गतेदेखि फागुन ३ गतेसम्म हुने महिला गोल्डकप प्रतियोगितामा नेपालले पहिलो प्रतिद्वन्द्वी म्यान्मार पाएको छ । भारतीय फुटबल महासङ्घले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल माघ २६ गते म्यानमारसँग खेल्नेछ । आसन्न साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

अन्तिम समयमा श्रीलङ्काले प्रतियोगिता नखेल्न जनाएपछि इरानलाई प्रतियोगितामा सहभागी गराइएको महासङ्ले जनाएको छ । प्रतियोगितामा नेपालसहित इरान, म्यान्मार र आयोजक भारत सहभागी छन् । नेपालले दोस्रो खेलमा माघ २८ गते भारतसँग र तेस्रो खेलमा नेपालले आगामी फागुन १ गते इरानसँग खेल्नेछ ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल खेल फागुन ३ गते हुनेछ । प्रतियोगिताको तयारीका लागि नेपाली टोली अहिले झापामा बन्द प्रशिक्षणमा रहेको छ ।

नेपाली टोलीमा गोलकिपर एन्जिला तेम्वाप्पो सुब्बा, अन्जना रानामगर, उषा नाथ, डिफेन्डर हीराकुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मनमाया लिम्बू, मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सरु लिम्बू, रेनुका नगरकोटी र स्ट्राइकरमा अनु लामा, रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी तथा अनिता केसी छन् ।

पहिलो पटक साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित नेपाली महिला टोली पूर्वराष्ट्रिय खेलाडी हरि खड्काको प्रशिक्षणमा छ । झापाबाट नेपाली टोली मङ्गलबार भारत जाने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083