नेपाललाई टी–ट्वान्टीमा इतिहास रच्ने अवसर
वि.सं.२०७५ माघ २० आइतवार १२:२१
shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (आइतबार) अन्तिम तथा तेस्रो टी–ट्वान्टी खेल्दै छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउसो पौने ३ बजे सुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज जस्तै ऐतिहासिक टी–ट्वान्टी सिरिज जित्ने लक्ष्य हुनेछ । नेपाली टिममा अहिले युवा खेलाडीहरुको बर्चश्व रहेको छ । यूएई टुरमा अनुभवी खेलाडी शरद भेषावकर विरामी परेका कारण खेल्नै गएनन् भने त्यहाँ पुगेका बसन्त रेग्मीको पनि प्रदर्शनबाट उत्साहित हुने ठाउँ छैन । त्यसैगरी नेपालले ओपनिङ र विकेट किपिङमा अपेक्षाकृत सफलता हात पारेको छैन् । एक दिवसीय क्रिकेटमा विकेट किपिङ र ओपनिङ गरेका विनोद भण्डारी टी –२० मा सुरुका दुई खेलमा टिममा पर्न सकेनन् ।
टी–२० मा ओपनिङ तथा विकेट किपरको भूमिकामा आएका प्रदीप ऐरी दुवै खेलमा चल्न नसके पछि उनी आइतबारको टिममा पर्ने सम्भावना न्यून रहेको छ । उनको ठाउँमा विनोद भण्डारीलाई नै खेलाउने योजना रहेको छ । यसैगरी बसन्त रेग्मीको खेल्ने सम्भावना पनि कम रहेको छ । एक दिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान राखेका रोहितकुमार पौडेल टी–२० को पहिलो खेलमा नचले पछि दोस्रो खेलमा बेन्चमै बस्न पुगे । घरेलु टोलीसंगको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को अवस्थामा रहेको छ ।
अन्तिम खेल जित्दै नेपाल पहिलो टी–ट्वान्टी सिरिज जित्न चाहन्छ । यसअघि नेपालले तीन खेलको एक दिवसीय सिरिज २–१ ले जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो । नेपालले हालसम्म दुई टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेलिसकेको छ । तर, सिरिज जित्न सकेको छैन । बंगलादेशमा सम्पन्न सन् २०१४ को टी–ट्वान्टी विश्वकप खेलिसकेको नेपालले त्यहिँ वर्ष हङकङसंग श्रीलंकामा ५ खेलको सिरिज खेलेको थियो । तर, उक्त सिरिजको चार खेल वर्षाको कारण रद्द भएको थियो । अन्तिम खेलमा भने नेपाल हङकङसंग २ विकेटले पराजित भएको थियो । यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्डविरुद्ध ४ खेलको टी–ट्वान्टी सिरिज खेलेको थियो । उक्त सिरिज नेपालले ३–१ ले गुमाएको थियो ।
त्यसैले नेपाललाई युएईमा ऐतिहासिक टी–ट्वान्टी सिरिज जित्ने पहिलो अवसर छ । नेपाललाई ऐतिहासिक सफलता प्राप्त गर्न घरेलु टोलीको कठिन चुनौती पन्छाउनु पर्नेछ । टी–ट्वान्टी सिरिजको अन्तिम खेल नेपाल र युएई दुवैका लागि महत्वपूर्ण रहेको छ । दुवै टोली सिरिज आफ्नो बनाउन चाहन्छ ।
त्यसैले दुवैका लागि लागि यस सिरिज गर या मरको स्थितिमा हुनेछ । युएई एकदिवसीय सिरिज गुमाएको पीडा भुलाउन चाहन्छ । यता, नेपाल भने दुवै सिरिज जितेर घर फर्कन चाहन्छ ।


























