पोखरा म्याराथनको उपाधि आर्मीका हरि रिमाललाई

4.47K
shares

पोखरा । सफल पोखरा म्याराथनको उपाधि नेपाल आर्मीका हरिकुमार रिमालले जितेका छन्। २ घन्टा ४०.१० सेकेन्डमा ४२ किलोमिटर पार गर्दै उनले उपाधि जितेका हुन्।

सशत्र प्रहरी बलका खिमबहादुर खत्रीले २ घन्टा ४०.२० सेकेण्डमा दौड पूरा गरेर दोस्रो भए भने तेस्रो भएका नेपाल प्रहरीका भूमिराज राईले २ घन्टा ४१ मिनेट १७ सेकेन्डमा दूरी पूरा गरे। २ घन्टा ४२ मिनेट ५५ सेकेन्डमा दौड पूरा गरेका नेपाली सेनाका पूर्ण तामाङ चौथो भए।

भूतपूर्व खेलाडी मञ्च नेपालले गरेको १३ औं संस्करणको सफल पोखरा म्याराथनको उपाधि जितेका रिमालले १ लाख रुपैयाँ र ट्रफी हात परे। दोस्रो भएका खिमबहादुरले ७० हजार, तेस्रो भएका भूमिराजले ५० हजार र चौथो भएका पूर्ण तामाङले ७ हजार रुपैयाँ प्राप्त गरे।

रिमाल यसअघिको म्याराथनमा दोस्रो भएका थिए भने राई बिजेता बनेका थिए। अघिल्लो वर्ष कास्कीको अन्नपूर्ण आधार शिविरबाट भएको अन्नपूर्ण म्याराथनमा हरिले उपाधि जितेका थिए।

१० किमी पुरुषतर्फको दौडमा तीनै वटा उपाधि नेपाली सेनाले हात पार्‍यो। सेनाका विकास कार्की, राजन रोकाया र शिवबहादुर रायमाझी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। १० किमी महिलातफको दौडमा नेपाल प्रहरीकी राजपूरा पछाईं पहिलो, सशत्र प्रहरी बलकी वृन्दा श्रेष्ठ दोस्रो र नेपाली सेनाकी सरिता वंशी तेस्रो भइन्।

५ किमी दौडमा छात्रछात्रा सहभागी थिए। जसमा छात्रतर्फ शहीद स्मृतिको तुलबहादुर घर्तीमगर र छात्रातर्फ बेसलाइन एकेडेमीका ललिता लामिछानेले उपाधि जिते। उनीहरुले ५/५ हजार पुरस्कार जिते।

प्रतियोगिताको ४०० मिटर पुरुष ह्विल चियर दौडमा सुरेश गौली पहिलो, भरत अधिकारी दोस्रो र हेमबहादुर गुरुङ तृतीय भए। यस्तै महिलातर्फ लक्ष्मी सुनार, अञ्जु बराल र पवित्रा विक क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। उनीहरुले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ जिते।

१०० मिटर दृष्टिविहीन दौडमा पुरुषतर्फको बी वानमा आदेश बस्याल पहिलो, सुनील राना दोस्रो र प्रेम क्षेत्री तेस्रो भए। यस्तै बी टूमा दुर्गादत्त पौडेल पहिलो, आशिष खड्गी दोस्रो र राम गुरुङ तेस्रो भए। दृष्टिविहीन महिलातर्फको बी वानमा रितादेवी थापा, बिपना खनाल र माया गौतम क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। बी टूतर्फ बिनिता पुन पहिलो, सरिता घिमिरे दोस्रो र सुकु बिक तेस्रो भए। पहिलो हुनेले ५, दोस्रोले ३ र तेस्रो हुनेले २ हजार रुपैयाँ पुरस्कार पाए।

म्याराथनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दै धावकसँगै केही मिटर दौडिएका थिए। मुख्यमन्त्रीसँगै प्रदेशका गृहमन्त्री हरिबहादुर चुमान पनि केही बेर दौडिएका थिए ।

‘दौडौं पोखराका लागि, दौडौं स्वास्थ्यका लागि’ नाम दिएर पोखरा म्याराथन गरिएको हो। भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङले म्याराथनलाई सिंगो पोखराले सेलिब्रेसन गरेको बताए। म्याराथनका विजेतालाई सामाजिक विकासमन्त्री नरदेवी पुन, सांसद मोहन रेग्मी, कृष्ण थापालगायतले पुरस्कार प्रदान गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083