सिन्धुपाल्चोकको जुगल हिमालमा पहिलोपल्ट मानव पाइला पुग्दै

4.71K
shares

 सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल हिमाल पहिलो पटक आरोहण हुने भएको छ। सगरमाथा आरोही माया गुरुङको नेतृत्वको टोली जुगल हिमाल आरोहणका लागि यही चैत १५ गते त्यसतर्फ लाग्ने भएका छन्।

जुगल गाउँपालिका र प्रदेश नं ३को संयोजकत्वमा सिन्धु पर्यटन परिषद्ले गरेको पत्रकार सम्मेलनमा जुगल हिमाल पहिलो पटक आरोहण हुन लागेको जानकारी दिइएको छ। आरोहण अवधि कम्तीमा २० देखि ३० दिन सम्म हुन सक्नेछ।

कार्यक्रममा आरोहणको नेतृत्व गरिरहेकी गुरुङले जुगल हिमाल अहिले सम्म कसैले पनि आरोहण नगरेको जानकारी दिएकी छिन्।

पर्यटन क्षेत्रमा नयाँ ‘रुट’कायम हुने

सगरमाथा आरोही गुरुङले जुगल हिमश्रृङ्खलामा अहिलेसम्म मानव पाइला नपुगेको ‘भर्जिन’ क्षेत्र भएकाले हिमाल आरोहणमा मात्र केन्द्रित नभएर सम्भाव्यता अध्ययन, ‘रुट’ पहिचान तथा निर्धारण लगायतका कार्यमा पनि केन्द्रित हुने जानकारी दिएकी छिन्। उनका अनुसार सो टोलीमा पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गेका नाति, पर्वतारोहण विज्ञ सहित सात जना समावेश हुनेछन्।

जुगल हिमश्रृङ्खलामा दुई दर्जन बढी हिमचुचुरा रहेको प्रारम्भिक अध्ययनले देखाएको जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिएका छन्। उनले जुगल हिमाल आरोहणका क्रममा पुगिने नेपेमाशाल धार्मिक दृष्टिले पवित्र स्थान भएको बताएका छन्।

बौद्ध धर्मका गुरु पद्मसम्भवले ध्यान गरेको तथा भविष्यमा हुन सक्ने विभिन्न परिघटनाका भविष्यवाणीका लिखतहरू यस क्षेत्रमा सुरक्षित राखिएको किंवदन्ती रहेको उनले बताएका छन्। श्रेष्ठले नेपेमाशाल नजीकै रहेको ब्रह्मायणी नदी, हरियाली जङ्गल, जङ्गलमार्गमा रहेको हजार जना अट्ने गुफा र त्यसैको आडमा रहेको जुगल हिमश्रृङ्खलाको सुन्दरतम दृष्यले जो कोहीलाई मोहित बनाउने बताएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083