पूर्वमुखिया राउटेहरुले जागिर खान थाले

5.42K
shares

सुर्खेत। राउटेहरू स्पष्ट तीन मान्यता राख्छन्– खेतीपाती नगर्ने, लेखपढमा नलाग्ने र जागिर नखाने। आफ्नै मान्यता विपरीत पूर्वमुखिया महिनबहादुर शाही सहित पाँचजना राउटेले शनिबार ‘जागिर’ सुरु गरेका छन्। पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदाय अहिले पैसाकै लागि जागिर खान तयार भएका हुन्। सुर्खेतको लेकबेंसी नगरपालिकामा बस्दै आएका राउटे समुदायका पूर्व मुखिया महिन बहादुर सहित अहिलेका मुखियाहरू सूर्यनारायण, दिलबहादुर, वीरबहादुर र राउटे युवा प्रकाश शाहीलाई दैलेखको सामाजिक सेवा केन्द्र सोसेक ले राउटे सामाजिक कार्यकर्ता पदमा जागिर दिएकाका छन्।

‘वनमा काठ काट्न पाइँदैन, जहान–छोराछोरी पाल्न जागिर त खानैप¥यो नियुक्ति पत्र बुझे पछि महिन बहादुरले भने, ‘यो हाम्रा लागि रहर नभएर बाध्यता हो। राउटे समुदाय केही वर्ष अघिसम्म काठका भाँडाकुँडा बनाएर अन्नपातसँग साटेर आफ्नो गुजारा गथ्र्यो। अहिले सामुदायिक वनले उनीहरूलाई रूख काट्न बन्देज लगाएको छ। अहिले सरकार र दाताको सहयोगमा उनीहरूको गुजारा चल्ने गर्छ। ‘जागिर खाएपछि नियमित पैसा आउँछ,’ मुखिया सूर्यनारायणले भने, ‘परिवार पाल्न सजिलो हुने भएकाले जागिर गर्न थालेका हौं।

पूर्वमुखिया महिन बहादुर सहित अहिलेका मुखियाहरू सूर्यनारायण, दिलबहादुर, वीरबहादुर र राउटे युवा प्रकाश शाहीलाई दैलेखको सामाजिक सेवा केन्द्र सोसेक ले ‘राउटे सामाजिक कार्यकर्ता’ पदमा जागिर पाएका हुन्।
पछिल्लो समय राउटे समुदायमा ठूलो परिवर्तन आएको छ। उनीहरू आधुनिक मानव बन्न त चाहँदैनन् तर नचाहेरै पनि आधुनिक जीवन शैली अनुशरण गर्न उनीहरू बाध्य छन्। आफ्नो समाज भन्दा बाहिरका मानिस सँग नबोल्ने र अरूले दिएको खानेकुरा समेत स्वीकार नगर्ने राउटे समुदाय अहिले पैसाकै लागि जस्तो सुकै सम्झौता गर्न पनि तयार हुन थालेका छन्। काठका भाँडाकुँडा बनाएर अन्नसँग साट्ने राउटे समुदायको पछिल्लो पुस्ताले आफ्नो सीपसमेत बिर्सिसकेको छ। ‘हामीले बनाएका भाँडाकुँडा पहिलेजस्तो बिक्री हुँदैन, जंगलमा काठ पनि काट्न पाइँदैन,’ अर्का मुखिया दिलबहादुरले भने, ‘पैसाका लागि पुर्खाले नगरेको काम हामी गर्न बाध्य भयौं।

जागिर खाए पछि राउटे अगुवाहरूले आफ्ना बालबालिकालाई औषधि खुवाउन, व्यक्तिगत सरसफाइमा लाग्न, बाल क्लब, युवा समूह गठन गर्न, कुपोषित आफ्ना बालबालिकालाई पोषणयुक्त लिटो खुवाउन, बिरामी भए वा घाइते भए औषधि उपचार गर्न सघाउनुपर्नेछ। यस्तै नजिकको बस्ती, सामुदायिक वन, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्ने, आफ्नो समुदायमा मदिरा प्रयोग र बेच बिखनमा प्रतिबन्ध लगाउने, बाह्य सहयोगलाई एकद्वार प्रणालीमार्फत ग्रहण गर्ने, सामुदायिक र राष्ट्रिय वनहरूबाट काठ काट्दा र घर बनाउँदा कम क्षति पु¥याउने कार्यमा पनि उनीहरूले सहयोग गर्नुपर्नेछ।

‘राउटे समुदायको सशक्तीकरण उनीहरूको सहभागिता बिना सम्भव देखिएन, नियुक्तिपत्र दिँदै संस्थाका पूर्वअध्यक्ष सीताकुमारी रानाले भनिन्, ‘त्यसैले राउटे समुदायका अगुवाहरू लाई सामाजिक कार्यकर्ता पदमा नियुक्त गरिएको हो।’ राउटे समुदायका पाँचजनाले मासिक १५ सयका दरले तलब पाउनेछन्। उनले पछिल्लो समय राउटे समुदाय परिवर्तनको बाटोमा अग्रसर भएको बताइन्। ‘राउटे समुदायको भाषा, संस्कृति र परम्परालाई बचाउँदै उनीहरूलाई सामाजिकीकरण गर्ने उद्देश्य हामीले लिएका छौं, रानाले भनिन्, ‘त्यसैका लागि समुदायका अगुवालाई सामाजिक कार्यकर्ता पदमा नियुक्ति दिएका हौं।’ उनले राउटे अगुवाहरूले जिम्मेवारी र सर्तअनुसार काम गरे केही समयभित्रै उनीहरूमा उल्लेख्य प्रगति हुने अपेक्षा गरिन्।

पढ्दै बालबालिका
राउटे समुदायमा अक्षर चिन्नुपनि आफ्नो मान्यता विपरीत थियो। तर पछिल्लो समय समुदायका बालबालिका कखरा सिक्न थालेका छन्। ‘बस्तीमा पढेको थाहा पाए मुखियाले गाली गर्छन्,’ बालक बिर्खबहादुर शाहीले भने, ‘त्यसैले बस्तीदेखि टाढा आएर पढिरहेका छौं।’ सोसेकले बालबालिका पढाउन साथी शिक्षकको व्यवस्था गरेको छ। यतिखेर राउटे बालबालिका खेल खेल्दै अक्षर चिन्दै गरिरहेका छन्। साथी शिक्षक दुर्गा खत्रीले राउटे बालबालिका पढ्न इच्छुक रहे पनि अगुवाहरूले अवरोध गर्ने गरेको बताइन्।

‘बालबालिकाहरू पढेर डाक्टर र ड्राइभर बन्ने सपना देख्छन्, अगुवाहरू नै पुर्खादेखि नगरेको काम भन्दै पढ्न दिँदैनन्,’ उनले भनिन्, ‘त्यसैले बस्तीदेखि टाढा ल्याएर पढाउने गरिएको छ।’ राउटे मुखिया सूर्यनारायणले पढ्नु आफूहरूको मान्यता विपरीत भए पनि बिस्तारै बालबालिकालाई पढाउने बताउँछन्। ‘बालबालिका पढ्न सहयोग गर्ने भनेर जागिर खाएका छौं, अब बिस्तारै पढाऔंला, उनले भने, ‘अहिलेको अहिल्यै कर नगर्नुहोला।

राउटेका लागि छुट्टै नीति
कर्णाली प्रदेश सरकारले राउटे समुदायको सामाजिकीकरणका लागि नीति तयार पारेको छ। ‘राउटे समुदायको भाषा, संस्कृति र परम्परा लाई बचाउँदै उनीहरूलाई सामाजिकीकरण गर्ने उद्देश्यले नीति बनाएका छौं, सामाजिक विकासमन्त्री दल रावलले भने, ‘यसले राउटे समुदायको समग्र विकासमा महत्वपूर्ण टेवा पु(याउने विश्वास हामीले लिएका छौं।’ पछिल्लो समय सरकारबाट प्राप्त सामाजिक सुरक्षा भत्ता र सहयोगी दाताहरुको भरमा जीवन गुजार्दै आएको राउटे समुदायको शिक्षा, स्वास्थ्य लगायत आधारभूत विषय समेटेर नीति तयार गरिएको हो। नीतिअनुसार अब राउटे समुदाय लाई सहयोग र भेटघाट गर्न सरकारी अनुमति आवश्यक पर्नेछ।

‘जति बेला पनि जुनसुकै व्यक्ति गएर अनेकथरी कुरा गर्ने भएकाले राउटे समुदाय अलमलमा परेको देखियो, यसका साथै राउटेको आवश्यकता भन्दा पनि दाताहरूको इच्छा अनुसार सामग्री बस्तीमा पुग्न थाले,’ मन्त्री रावलले भने, ‘त्यसैले नीति बनाएर एकद्वार प्रणाली अवलम्बन गरेका हौं। अत्यधिक मदिरा सेवन गर्ने भएकाले पछिल्लो समय राउटे बस्ने ठाउँनजिकै स्थानीयहरू टहरा बनाएर मदिरा भट्टी सञ्चालन गर्ने गर्छन्। राउटे बस्तीमा मदिरा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयको समन्वयमा उनीहरू बस्ने ठाउँ नजिकको प्रहरी चौकीबाट प्रहरी परिचालन गर्न सुरु गरिएको छ। ‘राउटे समुदायको सुरक्षाका साथै मदिरा नियन्त्रण पनि हुने भएकाले प्रहरी परिचालन गरेका हौं,’ उनले भने। प्रदेश सरकारले राउटे समुदायका युवायुवती र बालबालिकाको शिक्षाका लागि घुम्ती विद्यालय, स्वास्थ्य सेवाका लागि दैनिक स्वास्थ्यकर्मीको व्यवस्था लगायत विषय नीतिमा समावेश गरेको छ।

राउटे समुदायसँग सरोकार राख्ने कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आगामी आर्थिक वर्षबाट छुट्टै कार्यक्रम ल्याउँदै छ। राउटे नेपालको प्राचीन फिरन्ते तथा विश्वकै लोपोन्मुख र पिछडिएको आदिवासी जनजाति हो। राउटे समुदाय प्रदेश ५ को राप्ती पश्चिम प्रदेशको महाकाली नदीसम्मका जिल्ला दाङ, दैलेख, जाजरकोट, सुर्खेत, सल्यान, कालिकोट, अछाम, जुम्ला, दार्चुला, बैतडी जिल्लाको पहाडी जंगलमा बस्दछन्। हिउँदमा भित्री मधेसमा झर्ने र बर्खामा पहाडी जिल्लामा बसोबास गर्ने राउटे समुदायका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सामुदायिक वनभित्रै राउटे समुदायका लागि छुट्टै संरक्षित वन बनाउने तयारी थालेको छन्।

‘पहिलो चरणमा राउटे समुदाय बसोबास गर्ने नजिकका सामुदायिक वनमा उनीहरूलाई सदस्य बनाउँछौं र ती सामुदायिक वनभित्र उनीहरूका लागि छुट्टै संरक्षण क्षेत्र छुट्याउँछौं,’ मन्त्रालयका सचिव धीरेन्द्र प्रधानले भने, ‘त्यसपछि प्रिफ्याबका घर निर्माण गर्ने योजना बनाएका छौं।’ पछिल्लो समय राउटे र अन्य समुदायबीच काठ काट्ने विषयमा द्वन्द्व चर्किंदो छ। आफूले संरक्षण गरेको वनमा राउटे समुदाय आएर रूख काट्न थालेपछि कतिपय ठाउँमा राउटे समुदाय लखेटिने गरेका छन्।

जनसंख्या घट्दै
फिरन्ते जीवत बिताइरहेका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले परिचयपत्र वितरण ग(यो। असार ३१ गतेसम्म राउटे समुदायको संख्या एक सय ५१ थियो। सात महिनाको अवधिमा राउटेको संख्या घटेर एक सय ४५ मा झरेको छ। ‘अव्यवस्थित रहनसहन, पौष्टिक आहारको कमी र अत्यधिक मदिराका कारण राउटेहरुको संख्या घट्दै गएको हो । राउटे समुदायसँग लामो समयदेखि काम गर्दै आएका सोसेकका अध्यक्ष हीरासिंह थापाले भने, ‘बेलैमा यस्ता कुराहरूको नियन्त्रण गरिएन भने पाँच–दश वर्षमा राउटे समुदायनै नरहन सक्छ।


divya collage
unigloble collage