नेपाललाई साफ च्याम्पियन बनाउँछु : फुटबल प्रशिक्षक ‘कालिन’
वि.सं.२०७५ फागुन १२ आइतवार १७:३९
shares

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिम सम्हाल्ने तयारीमा रहेका स्वीडिस प्रशिक्षक योहान कालिनले आफ्नो लक्ष्य साफ च्याम्पियनसिप भएको बताएका छन्। आवश्यक पर्ने कागजात मिलाउन काठमाडौं आएका उनले पत्रकारसँग कुरा गर्दै नेपाली खेलाडीहरुको प्रशंसा समेत गरे।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार गरेको पत्रकार सम्मेलनमा कालिनले भने, ‘नेपाली खेलाडी प्रतिभाशाली छन्। यो दुई वर्षे अवधिमा नेपाली फुटबलको स्तर उक्सिनेछ।’
‘मेरो कार्यकालमा नेपाललाई साफ च्याम्पियन बनाउने छु’ उनले अघि भने। कालिनले अहिलेसम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भएर भने कुनै टिम सम्हालेका छैनन्। उनको लागि पनि यो एउटा अवसर हो भने नेपाली फुटबलका लागि प्रगति गर्ने मौका छ। कालिन भन्छन्, ‘प्रेसर त छ तर, चुनौतीको सामना गर्न म तयार छु। मेरो लागि यो अवसर पनि हो।’
उनले २०१० मा यूईएफए बाट लाइसेन्स लिएका थिए। त्यस्तै स्वीडेनको तेस्रो डिभिजन क्लबबाट उनले व्यवसायिक प्रशिक्षण सुरु गरेका थिए। २०७० सालमा शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबलाई प्रशिक्षण दिन उनी नेपाल आएका थिए। त्यसको करिब पाँच वर्षपछि उनी नेपाली राष्ट्रिय फुटबल टिम सम्हाल्न आएका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले उनीसँग भएको पारिश्रमिकको सम्झौताका बारेमा केही भन्न नमिल्ने बताए। अध्यक्ष शेर्पाले भने ‘नेपाल सरकारसँगको श्रम स्वीकृति विना केही भनिहाल्न मिल्दैन। सबै प्रक्रिया पूरा भएपछि तपाईहरुलाई जानकारी गराउने छौं।’



























