रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको फाइनलमा

4.88K
shares

काठमाडौं। बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडलाई ३–० गोलअन्तरले पराजित गरेसँगै बार्सिलोना फाइनलमा प्रवेश गरेको हो।

बार्सिलोनाले रियलमाथि समग्रमा ४–१ गोलको जित निकालेको हो। पहिलो लेगमा भने बार्सिलोनाले रियलसँग १–१ गोलको बराबरी खेलेको थियो।

बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गरे भने एक गोल उपहार स्वरुप पाएको थियो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो। ५० औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।

६९ औं मिनेटमा राफयल भरानेले आत्मघाती गोल गरेपछि बार्सिलोनाले दोब्बर अग्रता बनाएको थियो। ७३ औं मिनेटमा स्वारेजले पेनाल्टीबाट अर्को गोल गर्दै बार्सिलोनालाई ३–० गोलको जित दिलाएका हुन्।