नागरिकता नपाए अन्तर्राष्ट्रिय अदालत जाने पीडितको चेतावनी
वि.सं.२०७५ फागुन १६ बिहीवार १२:१३
shares

काठमाडौँ। नागरिकता वितरणमा विभेद कायम रहे अन्तर्राष्ट्रिय अदालत जान र सामूहिक आमरण अनशन बस्न बाध्य हुने चेतावनी पीडितले दिएका छन्।
संविधानमा उल्लेख भएर पनि नागरिकता पाउन नसकेका जन्मसिद्ध नागरिकता पाएका आमाबाबुका पीडित सन्तानले विराटनगरमा गठन गरेको नागरिकता पीडित संघर्ष समितिले ३१ चैतसम्म पनि नागरिकता नपाए अन्तर्राष्ट्रिय अदालत जाने र सामूहिक आमरण अनशन बस्न बाध्य हुने चेतावनी दिएको हो।
‘चैत अन्तिम सम्म पनि जन्मसिद्ध नागरिकताधारी सन्तानलाई सरकारले संविधान अनुसार वंशजका आधारमा नागरिकता दिन सुरु नगरे सयौँ पीडित अन्तर्राष्ट्रिय अदालत गुहार्दै सामूहिक आमरण बस्न बाध्य हुनेछौँ,’ संघर्ष समितिका संयोजक इसान खानले भने। संयोजक खानका अनुसार विराटनगर मा मात्र नागरिकता नपाएका ३ सय बढी संगठित भइसकेका छन् र देशभर हजारौँ पीडित छन्।
नागरिकता पीडित संघर्ष समिति विराटनगरका अनुसार सर्वोच्च अदालत, उच्च अदालत जनकपुर र उच्च अदालत विराटनगरबाट जन्मसिद्धका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन परमादेश भइसकेको छ । तर, प्रशासनले नागरिकता दिन मानेको छैन।














