मधेशको राजनीतिमा सीके राउतको उदय : मधेशी नेता भन्छन्,‘राउत राज्यको एजेन्ट रहेछन्’
वि.सं.२०७५ चैत ५ मंगलवार १६:१५
shares

जनकपुरधाम । ‘स्वतन्त्र मधेश बनाउने मुद्दा’ लिएर अभियान चलाउँँदै आएका सिके राउत मूलधारको राजनीतिमा फर्किएपछि नेपालको राजनीतिमा एउटा नयाँ पार्टी थपिने भएको छ।सरकारसँग ११ बुंदे सहमति गरेर ‘जनमत पार्टी’नामक राजनीतिक दलको गठन गरेसंगै सिके राउत चर्चाको शिखरमा छन्। उनी आफ्नो राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गराउने तयारी छन्। यसका लागि आन्तरिक तयारी भई रहेको जनमत पार्टीका केन्द्रिय सदस्य कैलाश महतोले समाचार दैनिकलाई जानकारी दिए।
राउत नेपालको मूलधारको राजनीतिमा आए पछि नेपाल र विषेश गरि मधेशको राजनीतिले कुन बाटो लेला भन्ने प्रश्न उभिएको छ ? त्यसै माथि बहसका श्रृंखला सुरु भएका छन्। साथै राउतले अन्य मधेशवादी दलहरुलाई कस्तो व्यवहार गर्लान र अन्यले उनको दललाई कसरी हेर्लान भन्ने बहस पनि मधेशमा छ। राउतले आफ्नो पार्टीको नामबाट मधेश शब्द किन हटाए ? यो प्रश्न पनि धेरैको मनमा उब्जिएको छ।
के भन्छन् मधेशका राजनीतिक दल ?
केही राजनीतिक दलहरुले राउतको यो कदमले नेपालको संसदीय व्यवस्थालाई अझै मजबुत पार्न सहयोग पुग्ने रुपमा लिई रहेका छन् भने कतिपयले राउतले भ्रमको राजनीति परित्याग गरेको रुपमा व्याख्या गरि रहेका छन्। जनमत पार्टीका केन्द्रिय सदस्य चन्दन सिंहले मूलधारको राजनीतिमा आफुहरुको आगमनले मधेशको समस्या समाधान गर्न अझै सजिलो हुने दावी गरे। उनले भने, ‘मधेशको पहिचानको मुद्दा हामीले परित्याग गरेका छैनौँ बरु रणनीतिलाई अझै परिमार्जित गर्दै अगाडी बढ्ने योजना छ।’
राष्ट्रिय जनता पार्टी (राजपा) प्रदेश दुईका सचेतक परमेश्वर साहले हिजोसम्म मधेशी जनतालाई ‘मधेशलाई स्वतन्त्र देश’ बनाउने भ्रमको राजनीति गर्ने सिके राउत पनि मूलधार कै राजनीतिमा फर्किनु देशकै लागि साकारात्मक संकेत रहेको बताए। ‘राउतजी राजनीतिमा आए पछि अन्य राजनीतिक दल आतिने कुनै कारण छैन’ उनले भने, ‘भ्रमको राजनीति गर्दै आउनु भएका राउतमाथि जनताले कति विश्वास गर्छन् यसका लागि सबैले प्रतिक्षा गर्नै पर्छ। राउतजीले जस्तो व्यवहार यस अघि देखाउँदै आएका थिए यसको मूल्यांकन यहाँका जनताले पक्कै गर्ने छन्।’
राजपा नेता साहले राउतले आफ्नो पार्टीबाट मधेश शब्द हटाएको विषयमा कडा प्रतिक्रिया दिए। यो कदमले राउत राज्यद्वारा परिचालित एजेन्ट रहेको कुरा स्पष्ट भएको बताए। साहले भने, ‘हामीले कहिल्यै मधेश अलग देश हुनु पर्छ भनेनौँ, तर राउतजीले मधेश अलग देश बनाउनु पर्छ भनेर भ्रमित गरेर जनतालाई आफ्नो पक्षमा पार्ने काम गर्दै आएका थिए, तर आज आएर उनको यो कदमलाई लिएर राज्यको एजेन्ट रहेको पुष्टी भएको छ।’ यता जनमत पार्टीका नेता चन्दन् सिंहले मधेशको कुनै पनि मुद्दालाई नछोडेको दावी गरे।
उनले पार्टीको नाममा मधेश शब्द नराखिए पनि मधेशको अधिकारका लागि लडिरह्ने दावी गरे। उनले भने, ‘सरकारसंग भएको ११ बुन्दे सम्झौतामा हाम्रो मुद्दाहरु स्थापित गर्ने पक्षमा सम्झौता भएको छ, त्यस हिसाबले नै हामी मूलधारको राजनीतिमा आएका छौँ।’ उनले मूलधारको राजनीतिमा आएपछि सर्वमान्य हिसाबले अगाडी बढ्नु आजको आवश्यक्ता रहेको बताए।
प्रदेश दुईका आर्थिक मामिला तथा योजना मन्त्री एवं संघिय समाजवादी फोरमका कोषाध्यक्ष विजय यादवले सिके राउतको यो कदमले मधेशको राजनीतिक कन्सेप्टलाई परिवर्तन गर्न सफल भएको बताए। उनले भने ‘राउत पनि संसदीय व्यवस्थामा आगमन पछि हाम्रो एउटा मित्र, पारिवारिक सदस्य बढेको छ।’ ‘प्रजातन्त्रमा संसदीय प्रणालीको अभ्यासमा सक्रिय हुनु भएकोमा राउतलाई धन्यवाद दिनै पर्छ।’
राउतले पार्टीको नामबाट मधेश शब्द छुटाउनु ठूलो कुरो नभएको बताउँदै मन्त्री यादवले मधेशवाद स्थापित भई सकेकोले मधेशको अधिकारका लागि हामी सबै एक भएर अगाडी बढ्नुपर्छ। अब विप्लव समूले पनि संसदीय प्रणालीमा आउनु पर्ने मन्त्री यादवको भनाई छ।
विश्लेषक विमल भन्छन् –
राउतले पार्टीको नामबाट मधेश शब्द हटाउनुलाई राजनीतिक विश्लेषक डा. राजेन्द्र विमलले साकारात्मक रुपमै लिएका छन्। विश्लेषक विमलले राउत मूलधारको राजनीतिमा आए पछि धन्यवादको पात्र बनेको बताए। उनले कुनै पनि राजनीतिक दलले पहिले देश अनि मधेश भन्ने सोच राख्नु पर्ने बताउँदै भने, ‘त्यसैले होला राउतजीले पनि आफ्नो पार्टीको नाउँबाट मधेश शब्द छुटाएको हुनु पर्छ।’
विमलले देश कसरी समृद्ध हुन्छ, देशलाई विश्व सामु कसरी चिन्हाउन सकिन्छ, यहाँका जनता कसरी सुखी हुन्छन् त्यो सन्देश दिन सफल भएको स्वीकार गर्छन्। उनले नेपाल समृद्ध भए मात्रै मधेश समृद्ध हुने भएकोले मधेश केन्द्रित दलहरुले मधेशमा मात्रै केन्द्रित नभएर पहाडमा गएर पनि आफ्नो गतिविधि बढाउनु पर्ने बताए। उनले भने, ‘त्यहाँका जनतामा पनि आफ्नो प्रभाव जमाउन सक्नु पर्छ यदि यस्तो सोच राउतजीले राख्नु भएको छ भने साकारात्मक मान्नुपर्छ।’













