गण्डकी मेडिकलका अध्यक्ष अर्याल सहित फरार सञ्चालकलाई पक्रन सिआईबी परिचालन
वि.सं.२०७५ चैत ११ सोमवार १२:०४
shares

पोखरा । गण्डकी मेडिकल कलेजका फरार रहेका अध्यक्ष खुमा अर्याल सहित ९ जनालाई पक्राउ गर्न कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोसँग सहयोग मागेको छ। ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले फरार व्यक्तिको खोजीमा सहयोग गर्न कास्की प्रहरीले पत्र पठाए पछि टोली परिचालन गरिएको बताए।
एमबिबिएस र नर्सिङ कार्यक्रममा अध्ययनरत विद्यार्थीले गैरकानुनी रूपमा करोडौं रकम उठाएको भन्दै अध्यक्ष अर्यालसहित ११ जना विरुद्ध कास्की प्रहरीमा मुद्दा दर्ता गराएका थिए। तीमध्ये मेडिकल कलेजका प्रमुख कार्यकारी सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान गरि रहेको कास्की प्रहरीले जनाएको छ। कलेजले झन्डै ५० करोड रूपैयाँ ठगी गरेको विद्यार्थीहरुको दाबी छ।
कास्कीका प्रहरी उपरीक्षक ओम रानाका अनुसार अहिलेसम्म उक्त मेडिकल कलेजले ५३ करोड भन्दा बढी अवैध रूपमा उठाएको प्रारम्भिक रिपोर्ट छ। यो प्रकरणमा गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याललाई प्रमुख प्रतिवादी बनाइएको छ।
त्यस्तै, प्रिन्सिपल रविन्द्रप्रसाद श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखा शाखाकै विश्वराज घिमिरे, हरिमाया पौडेल, स्टोर किपर कृष्ण पौडेल, काठमाडौं स्थित कार्यालयबाट विद्यार्थी भर्नामा काम गर्ने तिलक पौडेल, कर्मचारी कृष्ण घिमिरे र दिनेश पौडेल माथि मुद्दा छ।
उनीहरु विरुद्ध फागुन २२ गते नै पक्राउ पूर्जी जारी भई सकेको छ। अतिरिक्त शुल्क फिर्ता, शुल्कको बिल, भौचर दिनु पर्ने लगायत चारबुँदे माग राखेर कलेजका पाँच सय विद्यार्थी लामो समय देखि आन्दोलनमा थिए।































