आजको पत्रपत्रिका: खारेज हुदै समाजकल्याण परिषद्
वि.सं.२०७६ मंसिर २४ मंगलवार ०२:०४
shares

काठमाडौं। दक्षिण एसियाली खेलकुद (साग) मा गौरिका सिंहले बनाएको कीर्तिमान र नेकपाको बढ्दो संगठनात्मक सक्रियताले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक अख्तियारको छानबिन, संस्थानमा सरकारले गरेको लगानी, विद्युत्तीय चुल्हो प्रवद्र्धनलगायत विषयबारे पनि पत्रपत्रिकाहरूले चर्चा गरेका छन् ।
कान्तिपुरले ‘गौरिका गौरव’ शीर्षक दिएर एउटै सागमा ४ स्वर्णको कीर्तिमान बनाउने गौरिका सिंहबारे एक सामग्री छापेको छ । कान्तिपुरका अनुसार १३ वर्षको छँदै १२ औं सागमा एक रजत र तीन कास्य पदक जितेकी गौरिकाले १३ औं सागमा स्वर्ण चुम्ने सपना बुनेकी थिइन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठक र नेकपा सचिवालय बैठकसँग जोड्दै कान्तिपुरले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले आ–आफ्नो मोर्चा सम्हाल्न थालेको लेखेको छ ।
एक महिनाअघि ओली र प्रचण्डबीच एक अध्यक्षले सरकार र अर्काले पार्टी चलाउने सहमति भएको थियो । त्यसको १ महिनापछि नयाँ सहमतिअनुसार आ–आफ्ना मोर्चाको जिम्मेवारी सम्हालेको स्पष्ट दृश्य देखिएको ठम्याइ कान्तिपुरको छ ।































