शहरीमा मन्त्री बाँस्कोटाको बहालीसँगै अघि बढ्यो ‘बाजेबज्यै पार्क’

7.7K
shares

काठमाडौँ । शहरी विकास मन्त्रालयले काठमाडौँको धोबीखोला किनारमा रहेको खाली जग्गामा ज्येष्ठ नागरिकलाई लक्षित गरेर ‘बाजेबज्यै पार्क’ निर्माण गर्ने भएको छ । सो मन्त्रालयकोसमेत कार्यभार सम्हालेएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पदबहाली गर्दै चालू आवभित्रै पार्क निर्माणको प्रक्रिया अघि बढाउनेसम्बन्धी फाइल स्वीकृत गरे ।

नेपालमा यसप्रकारको पार्क पहिलो पटक बन्न लागेको हो । सो पार्क ज्ञान केन्द्रका रुपमा रहनेछ । मन्त्री बाँस्कोटाले भने, “कोही सुकुल वा कुनै सीप प्रयोग गरेर बस्न सक्छ, कोहीसँग अरु कुनै ज्ञान हुनुसक्छ, त्यो सीप र ज्ञान बाँड्ने थलो यही हुनेछ ।”
नेपालमा अहिलेसम्म ज्येष्ठ नागरिकका लागि छुट्टै विश्रामस्थल नभएकाले ‘बाजेबज्यै पार्क’ निर्माण गर्न लागिएको उहाँको भनाइ छ । उनले भने, “निर्माणका लागि हामीसँग जग्गा छ, अबका केही दिनमै निर्माण प्रक्रिया अघि बढाइनेछ ।” शहरी क्षेत्रमा आमाबाबु दुवै व्यस्त हुँदा सन्तानको हेरचाहका लागि हेरचाह केन्द्र निर्माण गर्ने योजना रहेको मन्त्री बाँस्कोटाले बताए ।

युवायुवतीलाई मनोरञ्जनका लागि युवा लक्षित पार्क निर्माण गरिने उहाँले जानकारी दिए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा युवा वर्गलाई नाँच्ने, गाउने गर्दै रमाइलो गर्न पार्क निर्माण गर्न लागिएको बताए । खुला रङ्गमञ्चका रुपमा निर्माण हुने पार्कमा युवा एकअर्कामा अन्तरघुलित हुने उनको विश्वास छ ।

उनले भने “अहिले युवा एकअर्कालाई फेसबुक र ट्वीटरमार्फत चिने पनि त्यो मान्छेको स्वर कस्तो छ समेत थाहा छैन त्यो हटाउन पनि यो पार्कको महत्व छ ।” मन्त्री बाँस्कोटाले विभिन्न जिल्लामा एकीकृत बस्ती निर्माणका लागि प्राप्त अध्ययन प्रतिवेदन पनि स्वीकृत गरे ।

उनले विकासका लागि लाग्ने लागत कम गर्न एकीकृत बस्तीको महत्व रहेको जनाए । उनले लक्षित वर्गका लागि विभिन्न स्थानमा पार्क निर्माण गरिने बताए । सो अवसरमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसुदन अधिकारीलगायत मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायका कर्मचारी सहभागी थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083