ट्रम्प बंकरमा लुक्न बाध्य
वि.सं.२०७७ जेठ १९ सोमवार ११:२१
shares

वासिंगटन (एजेन्सी) ।
प्रहरी हिरासतका क्रममा अत्यन्तै निर्मम तरिकाबाट भएको जर्ज फ्लोयडको हत्यापछि देशब्यापी भइरहेका हिँस्रक विरोध प्रदर्शन उग्र बन्दै गइरहेको छ । अमेरिकाका ३० शहरमा हिंसा फैलिएको छ । यसको असर आइतबार ह्वाइट हाउससम्म पुगेको छ ।
राजधानी वासिंगटनमा स्थिति बिग्रेपछि त्यहाँका मेयरले राती ११ बजे देखि विहान ६ बजेसम्म कफ्र्यु घोषणा गर्यो । ह्वाइट हाउस वरिपरी लगातार तेस्रो दिन विरोध प्रदर्शन जारी रह्यो । अहिलेसम्म २२ सहरमा कम्तीमा १ हजार ६ सय६९ जनालाई गिरफ्तार गरिसकेको छ भने २५ सहरमा कफ्र्यु लगाइएको छ ।
ह्वाइट हाउस नजिक प्रदर्शन गरिरहेको भिडले एक फोहरको कन्टेनरमा आगजनी गरेको छ ।प्रदर्शनकारी प्रहरी तथा सुरक्षाकर्मीसँग पनि भिडन्तमा उत्रेको बताइएको छ । स्थिति विग्रन सक्ने देखिएपछि सुरक्षामा तैनाथ सिक्रेट सर्विस एजेन्टस राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा बनाइएको सुरक्षात्मक बंकरमा लगेका थिए । यसबीच घटनास्थलमा पुगेका वासिंगटन प्रहरीले ह्वाइट हाउस वरपर रहेका प्रदर्शनकारीलाई तितर बितर पारेका थिए ।
आइतकार ह्वाइट हाउस नजिकै स्थिति अनियन्त्रित बन्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पका आधिकारीक निवास वरीपरी प्रदर्शनकारीलाई हटाउन सिक्रेट सर्विस एजेन्टसले दंगा नियन्त्रक पोशाक लगाउनु परेको थियो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न सहरमा जारी हिंसाका लािग देशका वामपन्थीलाई जिम्मेवार ठहर्याएको छ ।
दंगाकारीहरुले निर्दोष नागरिकहरुलाई तर्साइरहेको, रोजगारी नष्ट गरिरहेको, ब्यापार ब्यवसायलाई नोक्सान पुर्याइरहेको र भवनहरुमा आगजनी गरिरहेको ट्रम्पले आरोप लगाए ।
फ्लोयडकोको नाममा उनको स्मरणलाई दंगाकारी, लुटेरा र अराजकतावादीहरुले बदनाम गरेको ट्रम्पले बताए । ट्रम्पले एक ट्विटमा मिनियपोलिसमा डेमोक्र्याटिक पार्टीका मेयर स्थिति नियन्त्रण गर्न असफल भएपछि नेसनल गार्ड परिचालन गरिएको उल्लेख गरेका छन् । दुई दिन अगाडी नै परिचालन गर्नु पर्ने उल्लेख गर्दै अब त्यहाँ कुनै नोक्सान नहुने उनले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले फ्लोयडका लागि शुरु भएको आन्दोलन हाइज्याक गरिएको आरोप लगाए । त्यसता ब्यक्तीहरुलाई आफुले आतंकवादी घोषणा गर्ने निर्णय गरेको पनि बताए । ट्रम्पले ट्विटमा अमेरिका अन्टिफालाई आतंकवादी संगठनको संज्ञा दिने चेतावनी दिए ।
ट्रम्पले हिंसाको पछाडी वामपन्थी संगठन जिम्मेवार भएको बताए । जसलाई आम रुपमा अन्टिफा भनेर चिनिन्छ । अमेरिकामा फासीवादको विरोधीलाइ अन्तिफा (एन्टी फासिस्ट) भन्ने गरिन्छ । अमेरिकामा अन्टिफा आन्दोलन उग्रवादी, वामपन्थी र फासीवादी विरोधी आन्दोलनका लागि प्रयोग गरिन्छ ।


















