उपेन्द्र यादवको प्रधानमन्त्रीलाई प्रश्नः महाकाली सन्धिमा राष्ट्रघात किन गरेको ?
वि.सं.२०७७ जेठ ३१ शनिवार १५:१३
shares

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको बताएका छन् । यसका लागि कांग्रेस र कम्युनिस्टका नेताहरुले माफी माग्नुपर्ने उनले बताए ।
लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले सुगौली सन्धि आफैंमा अपमानजनक भएको बताए । तर काली (महाकाली) नदीलाई सीमा नदी मानेको र पश्चिमको भागमा नेपालले आफ्नो दाबी छोड्ने प्रष्ट देखिएको बताए ।
तर महाकाली सन्धिको प्रस्तावनामा नै ‘महाकाली नदीको अधिकांश भाग दुई मुलुकको सीमा नदी भएको स्वीकार गर्दै’ भन्ने लेखिएको उनले बताए । माहाकाली सन्धि गर्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समेत रहेका भन्दै उनले भने, जवाफ दिनुपर्यो सुगौली सन्धिभन्दा राष्ट्रिय हितमा पछाडि किन हटेको ?’
कांग्रेस र कम्युनिस्ट नेताहरुलाई ‘राष्ट्रवादको नारा दिन्छौं, मधेसीहरुलाई गाली गर्छौं तर राष्ट्रघात हामी आफैं गर्छौं भनेर जनतासँग माफी माग्न आग्रह गरे ।
समाजवादी पार्टीका अध्यक्ष यादवले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय समेत आफ्नो पार्टीले गरेको समेत बताए ।































