युएईबाट स्वदेश आईपुगे १ सय ४८ नेपाली
वि.सं.२०७७ असार ५ शुक्रवार ०९:०९
shares

काठमाडौं। शुक्रबार बिहानै युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ का कारण समस्यामा परेका नेपालीहरुलाई नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत नेपाल ल्याइएको हो । स्वदेश फर्कनेहरुमा अधिकांश महिला रहेको विमानमा एक नेपालीको शवसमेत रहेको दूतावासले जनाएको छ ।
युएईको स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजे नेपाल एयरलाइन्स उडानबाट उनी स्वदेश फर्किएका हुन । दूतावासका अनुसार असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई नै शुक्रबार नेपाल पठाइएको हो ।
स्वदेश फर्किएकामध्ये आबुधाबीबाट मात्रै ४२ जना छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीलाई सम्बन्धित एयरलाइन्सहरुले विमानस्थलसम्म ल्याइदिएका थिए । नेपाल फर्किएकाहरु नेपाल सरकारले तोकेको १३ सय २० दिरामका ९करिव ४० हजार रुपैयाँ० को दरले टिकट काटेर आएका हुन ।
नेपाल फर्कन चाहनेका लागि सरकारले आह्वान गरेको फारममा आफ्नो विवरण उल्लेख गरेकाहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइएको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । पहिलो उडानमा अधिकांश गर्भवती महिलाहरु नेपाल फर्किएका हुन ।





















