पूर्वमाओवादीको समर्थन खोज्दै प्रधानमन्त्री ओली, कावेरी होटलमा बैठक!
वि.सं.२०७७ असार ९ मंगलवार १३:००
shares

काठमाडौ । भाेलि बुधबारदेखि सुरु हुने स्थायी समिति बैठकमा तत्कालीन माओवादीका नेताहरूको समर्थन खोज्ने प्रयासमा प्रधानमन्त्री केपी शर्मा ओली लागेका छन् ।उनले बालुवाटारमा व्यक्तिगत रूपमा भेटघाट गर्नेदेखि आफ्ना प्रतिनिधिमार्फत अलग–अलग भेटघाट गरी समर्थन खोज्ने प्रयास थालेका हुन् ।
स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, मणी थापालगायतका तत्कालीन माओवादी नेताहरूसँग बाक्लो भेटघाट गरी समर्थन खोज्ने प्रयासमा प्रधानमन्त्री जुटेका हुन् । रायमाझीलाई बालुवाटारस्थित निवासमा बोलाएका प्रधानमन्त्री ओलीले पौडेल र थापालगायतलाई भने गाैशालास्थित कावेरी होटलमा आफ्ना प्रतिनिधिमार्फत भेटघाट गरेका हुन् ।
कावेरी होटलमा पौडेल, थापासहित प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र राजन भट्टराईलगायतसँग कुराकानी गरेका थिए । ‘स्थायी समितिलाई कसरी मर्यादित बनाउने भन्नेमा छलफल भएको हो,’ पौडेलले भने, ‘एमसीसीलगायतका बारेमा पनि छलफल भएको थियो ।’उनका अनुसार आगामी स्थायी समितिमा एमसीसीलगायतका विषय गम्भीर रूपमा उठ्ने भएकाले कहाँकहाँ संशाेधन गर्नुपर्नेलगायत विषयमा छलफल भएको थियो ।
त्यसो त सो छलफलमा सहभागी मणि थापाले पार्टी एकतालाई मजबुत बनाउन तथा स्थायी समितिलाई विवादभन्दा सहमतिमा जोड गर्नेबारे वातावरण बनाउने प्रयास स्वरुप भेटघाट गरिएको हो ।
‘प्रचण्ड, माधव नेपाललगायत स्थायी समितिलाई कम विवादित र मर्यादित बनाउने बारेमा छलफल गर्ने क्रममा उक्त भेटघाट भएको हो, सो भेटघाटमा स्थायी समितिका अजेन्डा बारेमा स्वाभाविक कुराकानी भएको थियो,’ थापाले भने, ‘मुख्यतः पार्टी एकतालाई अझ झन् बलियो र कसिलो एकताको सन्देश कसरी दिन सकिन्छ भन्नेमा सबैको चिन्ता व्यक्त भएको हो ।’
उनका अनुसार स्थायी समिति अघि बिभिन्न चरणमा छलफल चलिरहेको छ ।
उता, एमसीसीलाई जस्ताको तस्तै पास गर्ने भन्दा पनि सामान्य परिमार्जनसहित लैजानुपर्ने धारणा पार्टीभित्र बलियो बन्दै गएको नेकपाका नेताहरू बताउँछन् । ‘एमसीसीका बारेमा नेकपाभित्र निकै गिजोल्ने काम भएकाले भ्रम पनि सिर्जना भएको छ, त्यसलाई पार्टीभित्र नभई संसदमा छलफल गर्नुपर्ने गरी लैजाने तयारी पनि हुन सक्छ,’ ओलीनिकट एक स्थायी समिति सदस्यले भने ।
उनका अनुसार एमसीसी सम्झौता तत्कालीन कांग्रेस–माओवादी गठबन्धन सरकारले गरेकाले स्थायी समितिमा उठाउने प्रश्नहरूको जवाफ कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिन लगाउने सोचमा प्रधानमन्त्री ओली छन् ।













