चट्याङ लागेर भारतमा १०७ ज्यानको मृत्यु
वि.सं.२०७७ असार १२ शुक्रवार १०:१८
shares

एजेन्सी । भारतमा चट्याङका कारण १०७ को मृत्यु भएको छ । जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ को मृत्यु भएको छ ।भारतको आपत्कालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजेको समयमा परेको चट्याङ लागेर बिहारमा ८३ जनाको ज्यान गएको हो । चट्याङ लागेर कैयौँ घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बिहारको २३ जिल्लामा चट्याङ पर्दा यति ठूलो सङ्ख्यामा मानवीय क्षति भएको हो । सबैभन्दा धेरै गोपालगञ्जमा १३ जनाको ज्यान गएको छ भन् मधुबनी र नबादामा आठ–आठ जनाको ज्यान गएको छ ।
यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो समवेदना प्रकट गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘बिहार र उत्तर प्रदेशका केहि जिल्लामा भारी वर्षा र चट्याङका कारण मानिसहरुको निधन भएको दुःखद समाचार पाएँ । राज्य सरकार तत्परताका साथ राहत कार्यमा जुटेका छन् । यो आपतकालीन स्थितीमा जसले आफ्नो ज्यान गुमाउनुपरेको छ, उनीहरुको परिवारप्रति आफ्नो समवेदना प्रकट गर्छु ।’
भारतको मौसम विभागले बिहारमा अबको तीनदिनसम्म भारी वर्षा हुने चेतावनी जारी गरेको छ । मौसम विभागले भारती वर्षा र क्षतीको आशंका जताएको छ । भारी वर्षाका कारण जन धनको क्षती हुने, तल्लो स्थान जलमग्न हुने, यातायात र विजुली आपूर्ती अवरोध हुने र नदीको जलस्तरमा वृद्धि हुनसक्ने चेतावनी दिइएको छ ।
शुक्रबारका लागि राज्यका लगभग १० जिल्ला रेड जोन घोषित गरिएको छ । यसमा पूर्वी चम्पारण, पश्चिमी चम्पारण, गोपालगञ्ज, सितामढी, मधुबनी, सुपौल, अररिया, किशनगंज, पूर्णिया, सहरसा र मधेपुरामा अत्यधिक वर्षा हुने आशंका जताइएको छ ।









