नेकपा विवाद: ओलीको पुरानै अडान, प्रधानमन्त्री पनि छाड्दिन अध्यक्ष पनि छाड्दिन !
वि.सं.२०७७ असार ३१ बुधवार २१:१५
shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको छलफलसमेत बिना निष्कर्ष टुंगिएको छ।
बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अध्यक्षद्वयले छलफल गरेका हुन्। करिब पौने १२ बजेदेखि दिउँसो साढे बजेसम्म चलेको छलफलमा प्रधानमन्त्री ओलीले आफु प्रधानमन्त्री पनि छोड्दिन, अध्यक्ष पनि छोड्दिन भन्ने पुरानै अडान कायम राखे पछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए।
अघिल्लो बुधबारको छलफलपछि मंगलबार प्रचण्ड र ओलीले छलफल गरेका थिए। मंगलबार कुरा नमिलेपछि बुधबारका लागि छलफल तय भएको थियो। सहमतिका लागि प्रयास भएपनि निचोडमा छलफल नपुगेको बालुवाटार स्रोतको दाबी छ।
पार्टी भित्र आन्तरिक विवाद चर्किदै जाँदा शुक्रबारका लागि बोलाइएको स्थायी समिति बैठक साउन २ गतेसम्म सरेको छ। स्थायी समिति बैठक स्थगित भएपछि प्रचण्ड शनिबार चितवन गएका थिए। सोमबार काठमाडौं फर्किएपछि प्रचण्ड भेट र छलफलमा सक्रिय छन्।
बुधबार बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गर्नुअघि प्रचण्डले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए। प्रचण्डले सोमबारसमेत वरिष्ठ नेता नेपालसँग भेट गरेका थिए। मंगलबार बिहान भने उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेर प्रचण्ड बालुवाटार पुगेका थिए।
पार्टीको आन्तरिक विवाद मिलाउन शीर्ष नेतृत्व सक्रिय भए पनि नेताका अडानले सहमति जुट्न सकेको छैन। प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल र उपाध्यक्ष गौतमले प्रधानमन्त्रीको राजीनामा माग्दै आएका छन्।
प्रधानमन्त्री ओलीले भने पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान राख्दै आएका छन्। प्रधानमन्त्रीको यही अडानले कुरा नमिलेको प्रचण्ड पक्षको दाबी छ।
पार्टी भित्रको विवाद समाधानका लागि दोस्रो तहका नेतालेसमेत छलफललाई तिब्रता दिएका छन्। बुधबारको बालुवाटार छलफलमा अध्यक्षद्वय ओली र प्रचण्डसँगै महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मासमेत सहभागी थिए।






























