युवाहरुद्धारा खानेपानी मन्त्री विना मगरको पुत्ला दहन

11.82K
shares

जनकपुरधाम : मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा दुर्घटनामा परि मृत्यु भएका इन्जिनियर सतिश कुमार गोईतको मृत्यु सरकारको लापरवाहीका कारण भएको भन्दै शुक्रबार जनकपुरमा युवाहरुले खानेपानी मन्त्री विना मगरको पुत्ला जलाएका छन् ।

बिभिन्न राजनीतिक दलमा आबद्ध तथा स्वतन्त्र युवाहरुले स्थानीय भानुचोकमा मन्त्री मगरको पुत्ला जलाएका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा इन्जिनियर गोइतको मृत्यु सरकारको लापरवाहीका कारण भएकोले आफुहरुले विभागिय मन्त्रीको पुत्ला जलाएको नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले बताए ।

उनले मृतकको परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्ने र घटनाको निष्पक्ष छानविन गर्न सरकारसँग माग गरेका छन् ।

मेलम्चीको निर्माण कमसल भएका कारण सतिशको मृत्यु भएको उनको जिकिर छ ।

भानुचोकमा जम्मा भएका युवाहरुले हत्यारालाई कारवाही गर, कमसल सामान प्रयोग गरेर युवाको हत्या गर्न पाईदैन, इन्जिनियरलाई मोहरा बनाएर मन्त्री पद बचाउन पाईदैन, खानेपानी मन्त्री बिना मगर राजीनामा दे, इन्जिनियर सतिश गोईतलाई सहिद घोषणा गर, मृतकको परिवारलाई क्षतिपूर्ती दे, इन्जिनियरिङ्ग पेशालाई सुरक्षित गरलगायतका नाराहरु लगाएका थिए ।

पुत्ला दहन कार्यक्रममा स्थानीय युवा दिपक यादव, मनिष कर्ण, नवीन यादव, प्रशान्त झा, पंकज साह, किशन साह, गौतम यादव, मनिष यादव, लक्ष्मण मण्डल, पुजन सिंह, आदित्य नेपाल लगायत दर्जनौंको सहभागिता रहेको थियो ।

मंगलबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको सुरुङको १७ नं गेट फुट्दा २ जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका २ जना मध्ये २५ वर्षीय इञ्जिनीयर सतिश गोईतको शव बुधबार अपराह्न ४ बजे फेला परेको थियो ।

उनको शव मेलम्ची नगरपालिका-११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको थियो । अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सुरुङ निरीक्षण गरेर फर्कने क्रममा सुरुङको गेट भत्किएर आयोजनाका इन्जिनियर गोइत र चालक थापामगर मेलम्ची नदीमा बेपत्ता भएका थिए । द नेपाल टपबाट