कांग्रेसमा छिर्न थापाले दिए राप्रपाबाट राजीनामा (राजीनामाको पूर्णपाठसहित)

7.25K
shares

काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाले शनिबार पार्टी परित्याग गरेका छन् । उनीसँगै राप्रपाका केन्द्र र जिल्लाका ३१ जना नेताले पार्टी परित्याग गरेका हुन् ।

पार्टीमा गणतन्त्रको पक्षमा वकालत गर्दै आएका थापाले राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई शनिबार राजीनामा पत्र बुझाएका छन् ।

पार्टीले संस्थापक अध्यक्ष स्व. सूर्यबहादुर थापाको नेतृत्वमा उदार प्रजातान्त्रिक दृष्टिकोण एवं परिवर्तनलाई आत्मसात् गर्ने नीतिको अनुशरण गर्दा राप्रपा कुनै समय देशको तेस्रो ठूलो दल तथा सही अर्थमा वैकल्पिक प्रजातान्त्रिक शक्ति भएको, तर अहिले पार्टी नेतृत्व गलत दिशामा गएको उनले आरोप लगाएका छन् ।

पार्टी संस्थापकहरूले देखाएको सपना, परिवर्तनप्रति पार्टीको प्रतिबद्धता र आमजनमतविपरीत पार्टी गएकोमा खबरदारी गर्दै आएको, तर पार्टीले सुनुवाइ नगरेको थापाको आरोप छ । संयुक्त राजीनामा पत्रमा भनिएको छ, ‘उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा प्रजातान्त्रिक पद्धतिका पक्षमा निरन्तर रहने गरी हामी आजका मितिदेखि राप्रपाको सबै भूमिका र तहबाट अलग भएको घोषणा गर्दछौँ ।’

पार्टीबाट संयुक्त रुपमा राजीनामा दिनेहरुमा थापासहित बाबुराम बस्नेत, विष्णु विक्रम थापा, बृजलाल यादव, पदम बहादुर बस्नेत, किरण गिरी, दिलिप राई, आशाराम चौधरी, श्रीमती राज्य लक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ शाह, वीरेन्द्रलाल कर्ण, नारायण राउत, इन्द्रबहादुर तामाङ, राजकुमार भट्टराई, डम्बरबहादुर राई लगायत छन् ।

सुनीलबहादुर थापाले राप्रपा त्यागेसँगै स्व. सूर्यबहादुर थापाको राजनीतिक इतिहास पनि गुमेको छ । थापाले आफु शक्तिमा रहँदा छोरा सुनीललाई राजनीतिमा ल्याएका थिए । तर, थापाको मृत्यु भएको ५ वर्षपछि नै छोरा सुनीलले आफ्ना बाबुको विरासत गुमाएका छन् ।

थापा साउन १३ गते मंगलबार सहमहामन्त्रीसहित नेपाली कांग्रेसमा प्रवेश गर्दैछन् । आफु कांग्रेसमा जानका लागि जिल्लामा रहेका सीमित नेता कार्यकर्तालाई पनि राप्रपाबाट राजीनामा दिन बाध्य बनाएका छन् ।

राजीनामाको पूर्णपाठ हेर्न तल दिएकाे तस्विरमा किल्क गर्नुहाेस् 


divya collage
unigloble collage