नेकपा सचिवालय बैठक बस्दै
वि.सं.२०७७ भदौ १ सोमवार ०८:५६
shares

File photo
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ ।
आज सोमबार बिहान ९ बजे बालुवाटारमा सुरू हुने बैठकले आन्तरिक विवाद समाधानका लागि शुक्रबार गठित कार्यदललाई अनुमोदन गर्नुको साथै कार्यदलको कार्यदेश पनि तयार पार्ने छ ।
गत १० असारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि नेकपामा विवानद बढेका थियो ।
दुवै पद नछाड्ने अडानमा रहेका ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै आफूविरुद्ध माहोल तयार गरेको बुझेका छन् ।
यद्यपि, गत साता दुवै अध्यक्षबीच निरन्तर द्विपक्षीय छलफल भएको थियो । छलफलकै क्रममा ओली र प्रचण्डले गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदल बनाएका थिए ।






























