बुंगल नगरपालिकामा पहिरो : १२ र ६ वर्षीय दाजुभाइको शव फेला
वि.सं.२०७७ भदौ ३ बुधवार १९:०५
shares

File photo
बझाङ । बझाङ जिल्लाकाे बुंगल नगरपालिका ५ मिडीमा गएको पहिरामा परी बेपत्ता दुवै बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन र ६ वर्षका सुदीप ओखेडा छन्।
उनीहरूको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको पहलमा पहिराले पुरिएका अवस्थामा निकालिएको हो।
ठूला ढुङ्गा पहिरासँगै आएकाले उद्धारमा समस्या भएको थियो।
आज बिहान करीब १ बजेतिर घरमाथिबाट आएको पहिराले स्थानीयवासी ताम्राकारको घर पूर्ण रूपमा पुरिएको छ। उनी भने रोजगारीका सिलसिलामा भारतको बैंग्लोरमा छन्।
पहिरामा परेर उनकी ४० वर्षीया श्रीमती पिपला, १८ वर्षीया छोरी सुनिता र १२ वर्षीया टिन्टी भनिने सन्तोषी ताम्राकार र १६ वर्षका छोरा अनिल घाइते भएका छन्।
घाइते चारै जनाको खिरातडी स्वास्थ्यचौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुंगलले जनाएको छ। घटनालगत्तै नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरामा पुरिएका चार जनाको सकुशल उद्धार गरिएको थियो।
































