अछाममा गृहमन्त्री ‘बादल’को जम्बो टोलीले धानवाली सखाप
वि.सं.२०७७ भदौ ७ आइतवार १९:४८
shares

अछामको कैलाश खोलामा आएको बाढीले रामरोशन गाउँपालिका ५ मा मने साउदको करिब १५ रोपनी जग्गामा लगाएको धानबाली नष्ट गर्यो ।
त्यो पिडामा गृहमन्त्रीसहितको टोलि आएपछि मल्हम लाग्ने उनले सोचेका थिए ।
बाढीबाट केही क्षेत्रको धान भने बचेको थियो । तर गृहमन्त्री रामबहादुर थापा ‘बादल’को जम्बो टोलीले बचेखुचेको क्षेत्र पनि सखाप पारेको छ । बाढीबाट बचेको धानमाथि हेलिकप्टर उतारेर कार्यक्रम गरेको पीडितहरूले रुचाएका छैनन् ।
गृहमन्त्री बादल जम्बो टोलि लिएर घटनास्थलको निरीक्षण र राहतका लागि अछाम पुगेका थिए । उनको हेलिकप्टर पिडित मने साउदकै खेतमा ल्यान्ड गरियो ।
बादलको टोलीमा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा स्थायी समिति सदस्य तथा त्यही क्षेत्रका सांसद भीम रावल, शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका प्रमुख सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ लगायत थिए ।
उनको टोलीले २५ कट्टा चामल, १० कट्टा दाल, नुन तेल लगायतका राहत उपलब्ध गरायो । पूर्वगृहमन्त्री एवं सांसद भीम रावलले किरिया खर्च भन्दै १ लाख रुपैयाँ दिए ।
बाढीले रामारोशन–५ सैनीबजार बगाउँदा ७ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन् ।






























