भदौभित्र दुई रेल नेपाल आउँदै, कर्मचारी भारतबाट ल्याइने

7.8K
shares

काठमाडौँ : जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिनुभयो । “कोरोना महामारीको सङ्क्रमण सामान्य नभएसम्म रेल सञ्चालनमा भने आउने छैनन् तर भदौभित्रै रेल नेपाल आइपुुग्ने छ,” उहाँले भन्नुभयो ।

अहिले भारतको विहारस्थित हाजिपुर स्टेसनमा राखिएको रेल कोरोना भाइरस सङ्क्रमणका कारण उत्पन्न अवरोधले नेपाल आउन केही ढिलाइ भएको हो । रेल नेपाल र भारतबीच ‘क्रस बोर्डर’ चलाउनुपर्ने भएकाले दुवै मुलुकमा अहिले कोरोना महामारीको सङ्क्रमण दर उच्च रहेको हुँदा तत्काल सञ्चालनमा आउन नसक्ने महाप्रबन्धक भट्टराईले स्पष्ट पार्नुभयो ।

रेल्वे लिक हस्तान्तरण

यसैबीच भारतीय प्राविधिक र आर्थिक सहयोगमा निर्माण भएको जनकपुर–जयनगर रेल्वे लिक भारतले नेपाललाई हस्तान्तरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सके भदौभित्र नत्र असोजभित्र भारतले नेपाललाई सो ट्र्याक हस्तान्तरण गर्नेछ ।

कर्मचारी भारतबाट ल्याइने

रेल सेवा सञ्चाल गर्न आवश्यक प्राविधिक कर्मचारी तत्काल भारतबाट नै ल्याइने भएको छ । उक्त रेल सेवा सञ्चालनका लागि चालक दल, मर्मतसम्भार इन्जिनियर, सिग्नल प्रणालीका इन्जिनियर, स्टेसन सञ्चालनसम्बन्धी विज्ञ लगायतका प्राविधिक कर्मचारी भारतबाट ल्याइने बताउँदै महाप्रबन्धक भट्टराईले सोका लागि दुवै मुलुकबीच औपचारिक प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो ।

सो रेल सेवा सञ्चालनका लागि रेल्वे कम्पनीले रेल सेवासँग सम्बन्धित २६ जना कर्मचारी करारमा भर्ना गर्न १५ दिनको म्यादसहित २०७६ फागुन ९ गते आवेदन माग गरेको थियो तर आवेदनको अन्तिम म्यादसम्म एक जनाको निवेदन पनि परेन ।

संवत् १९९४ देखि सञ्चालनमा आएको जनकपुर–जयनगर रेल सेवा २०७१ सालदेखि जीर्ण भई बन्द भएको थियो । छ वर्षअघि साँघुरो लेन भएको उक्त रेल सेवा अब फराकिलो लेनमा सञ्चालन हुन लागेको हो ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083