अनेरास्ववियूले बुझायो शिक्षा मन्त्रीलाई २१ वुँदे ज्ञापनपत्र

6.63K
shares

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले आज शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई इमेलवाट २१ सुत्रीय माग सहितको ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्वन्धित ११ वटा र विश्वविद्यालय शिक्षासँग सम्वन्धित १० वटा माग प्रस्तुत गरिएको छ।

कोरोना संकट र निषेधाज्ञाका कारणले शिक्षामन्त्री पोखरेलसंगको टेलिफोन संवादपछि इमेलबाट ज्ञापनपत्र पठाइएको र उक्त ज्ञापनपत्र मन्त्री पोखरेलले ग्रहण गरिसकेको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए ।

ज्ञापनपत्रमा अनेरास्ववियूले शैक्षिकसत्र कुनै हरहालतमा खेर जान नदिन, वैकल्पिक माध्यमबाट परीक्षा लिन र सिकाई सहजीकरण निर्देशिका ०७७ को समीक्षा र अनुगमन गरी त्यसलाई शैक्षिक सत्रकै अङ्ग वनाउन माग गरेको छ ।

त्यसैगरी, कक्षा ११ मा भर्ना हुनुका लागि यस वर्ष तय गरिएको एसईई ग्रेडिङ मापदण्डलाई स्थगित गरी गतवर्षको मापदण्ड अनुसार नै भर्ना गर्ने अनेरास्ववियूले माग गरेको छ ।

अनेरास्ववियूले विद्यालय तहका विद्यार्थीको भर्ना अभिलेख राख्न र कक्षान्नोत्ति गर्न तथा होम सेन्टरको ब्यवस्था गरी कक्षा १२ को परीक्षा चाँडोभन्दा चाँडो गर्न माग गरेको छ ।

त्यसैगरी शैक्षिक वातावरण बनाउन आइसोलेशन र कोरिन्टिनहरु रहेका विद्यालयहरुमा डिइन्फेक्शन गर्न र कोरेन्टिनहरुको बैकल्पिक व्यवस्था गर्न समेत माग गरिएको छ ।

विश्वविद्यालयतर्फ अनलाइन तथा बैकल्पिक कक्षा र परीक्षा प्रणालीको तयारी र सञ्चालन गर्ने अधिकार सम्बन्धित विभाग तथा डिन कार्यालयलाइ प्रदान गर्न माग गरिएको छ ।

सेमेस्टर प्रणालीमा चलेका कक्षाहरुको हकमा स्वतः सेमेस्टर अपग्रेड गर्ने र सहज भएको समयमा क्रमसः बांकी रहेका सबै समेस्टरहरुको परीक्षा गराउन माग गरिएको छ।

यसैगरी, अनेरास्ववियूले विद्यार्थीलाई लक्षित गरेर सबै शिक्षण संस्थाहरुमा वाइफाइ तथा विद्यार्थीहरुलाई सुपथ रुपमा एनटिसि तथा एनसेल डाटा प्याकको व्यवस्था गर्न सरकारसँग विशेष माग गरेको छ ।

त्यसैगरी रिक्त रहेका विश्वविद्यालयहरुमा यथासिघ्र पदाधिकारी नियुक्ति गर्न माग गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083