अहिलेसम्म ५ वटा कोरोना भ्याक्सिन प्रयोग गर्न अनुमति

6.5K
shares

काठमाडौं । सन् २०१९ को अन्तिम दिन चीनको उहानबाट फैलिएको कोरोना भाइरसले हाल विश्वरव्यापी महामारीको रूपमा लिएको छ। कोरोनाको दोस्रो तेस्रो लहर समेत शुरू भइसकेको बताइएको अवस्थामा विश्वका कतिपय देशहरूले भने खोप उत्पादन गरिरहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले फाइजर बायोएनटेकले उत्पादन गरेको कोरोनाविरुद्धको खोपलाई अनुमति दिइ सकेको छ।

नयाँ वर्ष २०२१ को पूर्वसन्ध्यामा संयुक्त राष्ट्र संघीय स्वास्थ्य एजेन्सी डब्लुएचओको बैठकले आपतकालीन प्रयोगका लागि फाइजर बायोएनटेकको खोपलाई अनुमति प्रदान गरेको हो।

खोप विज्ञहरूको सुझाव र यसको सम्भावित जोखिमबारे अध्ययनपछि बेलायती कम्पनी फाइजर बायोएनटेकको खोपलाई अनुमति प्रदान गरिएको हो। डब्ल्युएचओले कोरोनाविरुद्धको खोपमा सबैको समान पहुँच हुनु पर्नेमा समेत जोड दिएको छ।

डब्ल्युएचओका सहायक महानिर्देशक डा. मारिएन्जेला सिमाओले विश्वभरका मानिसमा खोपको पहुँच स्थापित गर्ने दिशामा महत्वपूर्ण निर्णय भएको बताएकी छन्।

यो खोपलाई यसअघि बेलायत, अमेरिका, क्यानडा तथा केही खाडी देशहरूले अनुमति प्रदान गरिसकेका छन्। ती देशमा खोप लगाउन शुरू भइसकेको छ। साथै, अमेरिकी कम्पनी मोर्डेनाले उत्पादन गरेको खोपलाई पनि त्यहाँ अनुमति दिइएको छ। यस अघि रूसले निर्माण गरेको ‘स्पुतनिक भी’ खोप पनि प्रयोगमा आइसकेको छ।

चीनको सिनोफार्मको खोपलाई अनुमति

चीनले घरेलु कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप सिनाफार्म ज्याबलाई अनुमति प्रदान गरेको छ। सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ। सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोना भाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरूले बताएका छन्।

यसअघि नै सिनोफार्मले तयार गरेको कोभिड विरुद्धको खोप आपतकालीन प्रयोग अन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ। खोप दिइएकाहरूमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिकहरू रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

अक्सफोर्ड र एस्ट्राजेनेकाले बनाएको खोपलाई पनि अनुमति

अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले बनाएको अर्को खोपले बेलायतमा प्रयोग अनुमति पाएको छ। उक्त खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने अपेक्षा गरिएको छ। बेलायत सरकारले यो खोपका १० करोड मात्रा झिकाइ सकेको छ।

यस अघि डिसेम्बरको शुरूतिर फाइजर बायोएन्टेकले बनाएको खोप कोभिड १९ विरुद्ध प्रयोग हुन थालेको थियो। बेलायतमा प्रयोगका लागि अनुमति पाउने यो दोस्रो खोप हो।

भारत पनि खोपको अन्तिम तयारी

भारतले पनि कोभिड १९ को खोपलाई छिट्टै अनुमति दिने भएको छ। भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाले प्रयोगको अनुमति दिने अन्तिम तयारीमा रहेको बताइएको छ।

सेरम इस्टिच्युट अफ इन्डिया र भारत बायटेकले आपतकालीन प्रयोगका लागि अनुमति लागि यस अगाडि नै दुई पटक निवेदन दिइसकेको छ। दुई कम्पनीले सुरक्षा र प्रभावकारी सम्बन्धी पर्याप्त प्रमाणहरू पेस नगरेका कारण अनुमतिमा केही ढिलाइ भएको बताइरहेको छ।

सेरमले आष्ट्राजेनिकासँग अक्सफोर्डको भ्याक्सिन ल्याउन साझेदारी गरेको छ। वेलायतमा सो भ्याक्सिनले प्रयोगका लागि अनुमति पाइ सकेको छ। भारतमा अनुमति पाउनासाथ नेपालका पनि आपतकालीन प्रयोगका लागि ल्याउन सरकारले पहल गरिरहेको बताइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083