संसद विघटनविरुद्धको प्रदर्शनमा ऐक्यवद्धता जनाउन देउवाको अपिल
वि.सं.२०७७ फागुन २ आइतवार २०:१०
shares

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटनविरुद्धको प्रदर्शनमा ऐक्यवद्धता जनाउन अपिल गरेका छन् । कांग्रेसले सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा गर्दैछ ।
आइतबार विज्ञप्ति जारी गर्दै देउवाले केपी ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध सोमबार कांग्रेसले गर्ने विरोधसभामा सबैलाई ऐक्यवद्धता जनाउन अपिल गरेका हुन् ।
उनले पार्टीका नेता कार्यकर्तासहित सबै लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता जनाउन अपिल गरेका छन् । ‘यसअघिका प्रदर्शनमा पनि व्यापक जनसहभागिता भएको छ, अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु,’ देउवाले भनेका छन् ।
देउवाले संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको बताएका छन् ।
सोमबारको विरोध कार्यक्रमका लागि नेताहरू जिल्ला–जिल्लामा पुगिसकेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सोमबार सभापति देउवाले भैरहवाको विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । वरिष्ठ नेता रामचन्द्र्र पौडेलले धादिङमा हुने विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, महामन्त्री डा।शशांक कोइरालाले दाङमा, पूर्वमहामन्त्री प्रकाशमान सिंहले कास्कीमा, पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसीले काठमाडौंमा र डा।रामसरण महतले काभ्रेमा हुने विरोधसभालाई सम्बोधन गर्नेछन् ।
प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर, नेता गगन थापाले चितवन, प्रदीप पौडेलले दैलेख र डा।मिनेन्द्र रिजालले प्युठानमा हुने विरोध सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि विरोधसभाका लागि जिल्ला–जिल्लामा पुगेका छन् ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर कांग्रेसले १३ पुस, २५ पुस, ३ माघ, ८ माघ, १९ माघ र २४ माघमा विरोधस्वरुप विभिन्न कार्यक्रम गरिसकेको छ ।






























