एकीकृत समाजवादीले चयन गर्यो ७४ जिल्लामा नेतृत्व
वि.सं.२०७८ कात्तिक १६ मंगलवार १८:२६
shares

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७४ जिल्लामा कार्यसमिति विस्तार गरेको छ । दार्चुला, मनाङ र मुस्ताङमा समिति विस्तार हुने क्रममा छ । आगामी मङ्सिरभित्रमा सबै जिल्लामा समिति विस्तार हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीले सबै जिल्लामा सात सदस्यीय समितिमा गठन गरेको छ । ती समितिमा अध्यक्षको नेतृत्वमा दुई उपाध्यक्ष, एक सचिव र तीन उपसचिवको व्यवस्था गरिएको छ । प्रदेश तथा स्थानीय कमिटीका सात पदाधिकारीमध्ये कम्तीमा एक महिला हुनुपर्नेछ ।
पार्टीले गत असोजमा २४ बुँदे तत्कालीन कार्ययोजना पारित गरी देशभरका पार्टी कमिटी तथा सङ्गठनलाई अन्तरपार्टी निर्देशन दिएको छ । उक्त कार्ययोजनामा आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, सङ्घीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा सबै वडामा पार्टी कमिटी गठन गरिसक्ने निर्देशन छ ।त्यसअन्तर्गत जनसङ्गठनका कमिटी पनि पर्दछन् । सोही अभियानअन्तर्गत ‘एक वडा एक सय सङ्गठित सदस्य र एक हजार पार्टी सदस्य’ अभियान सञ्चालन गरिएको छ । प्रत्येक जिल्लामा समन्वय कमिटी समेत निर्माण गरिएको छ । प्रत्येक वडामा एक सय सङ्गठित सदस्य र एक हजार पार्टी सदस्य बनाइने छ । सक्रिय सदस्यलाई एकताबद्ध गरी सङ्गठित सदस्यमा समावेश गरिने छ भने पार्टीका समर्थक तथा निष्क्रिय सदस्यलाई पार्टी सदस्यमा एकीकृत गरिने नीति छ ।
केन्द्रीय कमिटीका हरेक सदस्यले पार्टी सदस्यता वितरण र सङ्गठन निर्माणको विशेष योजना बनाएर काम गर्ने र प्रत्येक महिना आपूmले गरेको कामको लिखित रिपोर्ट पार्टी केन्द्रमा बुझाउनु पर्नेछ । उपरोक्त कामको आधारमा केन्द्रीय कमिटीका सदस्यको मूल्याङ्कन हुनेछ ।
पार्टीका अध्यक्ष माधवकुमार नेपाल, केन्द्रीय सचिवालय तथा महासचिव डा बेदुराम भुसालसमेतका वरिष्ठ नेता रहेको केन्द्रीय कार्यालय गठन गरी पार्टीले राजनीतिक गतिविधि अगाडि बढाएको छ । शिवबहादुर देउजाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय अनुशासन आयोग, भरतकुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय लेखापरीक्षण आयोग, माधव पौडेलको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् गठन गरिएको छ । उक्त परिषद्मा सम्पूर्ण प्रदेशबाट प्रतिनिधित्व हुने छ । त्यस्तै सम्पूर्ण प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको छ ।
पार्टीको केन्द्रीय निकायका रूपमा केन्द्रीय परिषद् गठन गरिने भएको छ । उक्त परिषद्मा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी तथा सदस्य र जिल्ला कमिटीका अध्यक्ष रहनेछन् ।
ती निकायमा हरेक निर्वाचन क्षेत्रका आधारमा आउने सङ्ख्यामा कम्तीमा एक तिहाइ महिला सदस्य हुनुपर्ने छ । हरेक जनसङ्गठनबाट सम्बन्धित सङ्गठनमा रहेको सङ्गठित सदस्य सङ्ख्याको अनुपातमा प्रतिनिधित्व हुनुपर्ने र खुला रूपबाट पनि केही सङ्ख्याका सदस्य समावेश गरिने भएको छ । केन्द्रीय कमिटीले केन्द्रीय परिषद्का सदस्यलाई आवश्यकतानुसार विभिन्न फाँट तथा जिल्लाको सह–इञ्चार्जको जिम्मेवारी दिन सक्नेछ । यसैगरी केन्द्रीय परिषद्का सदस्य प्रदेश कमिटीको सदस्य वा जिल्ला कमिटीको पदाधिकारी पनि ती निकायमा रहन सक्नेछन् । केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चमा अध्यक्ष उपाध्यक्ष र सचिव पदाधिकारी रहनेछन् ।































