मिटर ब्याजकाे अाराेपमा काठमाडौमा दुई पक्राउ
वि.सं.२०८० वैशाख ११ सोमवार १९:५२
shares

काठमाडौ । मिटरब्याजमा पैसा लगानी गरेर धम्की दिई असुलेको आरोपमा प्रहरीले काठमाडौंमा दुईजनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युराे (सिआइबी)ले शंखरापुरकी उर्वशी भण्डारी र चाबहिलका दीपसागर श्रेष्ठलाई पक्राउ गरेको हो।
उनीहरूले एक लाख रुपैयाँ ऋण दिई दिनको एक हजार रुपैयाँका दरले ब्याज असुल्दै आएको सिआइबीले जनाएको छ।
ऋणीलाई खाली चेकमा हस्ताक्षर गर्न लगाई आफूखुसी अंक भरेर चेक बाउन्समा मुद्दा थुनाउने भन्दै धम्की दिने गरेको पीडितको उजुरी छ।
निलम घिसिङ तामाङ गुरुङ,सम्पूर्ण घर्तीमगर लगायत आठजनाले उनीहरूविरुद्ध एक करोड ६० लाख ८४ हजार रुपैयाँ ठगी गरेको उजुरी दिएका छन्। पक्राउ परेकालाई आपराधिक लाभसम्बन्धी कसुरमा कारबाही अघि बढाइएको सिआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले बताए।
पक्राउ परेकी उर्वशी चाबहिलमा पसल चलाउँदै आएकी छिन्। उनले दीपसागरसँग मिलेर खाली चेक लिएर चर्काे ब्याजदरमा ऋण लगानी गर्दै आएकी थिइन्।
मिटरब्याजसम्बन्धी प्रस्ट कानुन नहुँदा यससम्बन्धी अपराधमा कारबाहीका लागि समस्या हुँदै आएको छ। हालै मात्र सरकारले यससम्बन्धी कानुन निर्माण प्रक्रिया अघि बढाएको छ।































