नक्कली भुटानी शरणार्थी प्रकरण : अख्तियारका प्रमुख आयुक्त राईको पनि संगलनता!
वि.सं.२०८० वैशाख २० बुधवार १५:५१
shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका लैजान भनेर भएको ठगी प्रकरणमा धमाधम संलग्नहरु पक्राउ पर्न थालेका छन्। चर्चित नेता र उनीहरुसँग संलग्न उनका परिवारका मानिसहरुलाई समेत प्रहरीले अनुसन्धानको दायरामा ल्याउन थालेको छ।
उक्त प्रकरणमा मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार एवं द्वन्द्वविद् इन्द्रजित राई पक्राउ परेका थिए। उनीपछि उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे बुधबार पक्राउ परेका छन्। उनी गृह मन्त्रालयमा सचिव रहँदा भुटानी शरणार्थी बनाएर अमेरिका प्रवेश गर्ने ठगीमा संलग्न भएको बयानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
सचिव पाण्डेलाई कोटेश्वरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए। उनी गृह सचिव भएका बेला ठगी भएको पाइएको र पक्राउ परेका व्यक्तिले उनको नाम लिएपछि पाण्डलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यही प्रकरणमा तत्कालीन माओवादी नेता तथा हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। दुवै जना विरुद्ध पक्राउ पुर्जी जारी भएको र अहिले खोजी सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ। त्यस्तै गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। थापाले बादलको अधिकार दुरुपयोग गर्दै ठगीमा संलग्न भएको बयान अन्य पक्राउ परेका व्यक्तिले दिएपछि प्रहरीले जिल्ला अदालतबाट मंगलबार पक्राउका लागि अनुमति लिएको थियो। जिल्ला अदालतले अनुमति दिएपछि उनीहरु विरुद्ध प्रहरीले धमाधम अनुसन्धान थालेको हो।
भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको भनेर सयौं नेपालीले प्रहरीमा उजुरी दिएका छन्। उजुरीको आधारमा प्रहरीले केही महिना अगाडि देखि नै अनुसन्धान अगाडि बढाएको थियो। अमेरिका जाने भन्दै पीडितहरुले दिएको रकम राईले समेत लिएको पाइए पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइ दिने भन्दै पैसा असुली गर्ने कार्यमा एउटा गिरोह नै सक्रिय भएको प्रहरीको भनाइ छ। उक्त गिरोहको राजनीतिक दलका नेताहरुसँग साँठगाँठ भएको विषय पनि सार्वजनिक भएको थियो। यही प्रकरणमा प्रहरीले यस अघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ।
अख्तियार प्रमुख प्रेम कुमार राई पनि तानिएलान्?
यो प्रकरणमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहेका प्रेम कुमार राई पनि संलग्न भएको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उजुरी परेको थियो।
उनी गृह मन्त्रालयको सचिव हुँदा भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहसँग मिलेमतोमा काम भएको आरोप उजुरीमा लगाइएको छ। तत्कालीन गृहसचिव पाण्डे पक्राउ परिसकेका र उनी पनि गृहमा कार्यरत रहेको तथा अख्तियारमा उजुरी परेकाले पक्राउ पर्लान् वा पक्राउ पुर्जी जारी नहोला भन्ने प्रश्न उठेको छ।
राई आफैले पनि आफू विरुद्ध अख्तियारमा उजुरी रहेको स्वीकार गरेका छन्। उनले आफूमाथि छानबिन माग गरेर अख्तियारमा उजुरी दर्ता भएको सार्वजनिक रुपमा स्वीकार गरेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल पुसमा उनलाई प्रमुख आयुक्त बनाएका थिए।
उनी त्यस अघि गृह मन्त्रालयमा कार्यरत रहेका थिए। अन्य शक्तिशाली व्यक्तिहरु पक्राउ पर्ने र पक्राउ पुर्जी जारी भइ रहँदा उनको हकमा के होला भन्ने अनुसन्धानकै क्रममा रहेको छ। प्रहरीले यो प्रकरणमा अनुसन्धान गरि रहेकाले अहिले नै केही भन्न नसकिने जनाएको छ।































