सशस्त्रका डीएसपी पंकज पौडेल विरुद्धको जाहेरी प्रहरीले लिन मानेन
वि.सं.२०८० वैशाख २३ शनिवार १४:१८
shares

काठमाडौं । सशस्त्र प्रहरी बलको काभ्रे गणका प्रहरी नायब उपरीक्षक (डीएसपी) पंकज पौडेल विरुद्धको जोहरी प्रहरीले दर्ता गर्न मानेको छैन ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटस्थित घर अगाडि छिमेकीसँग भएको जग्गा विवादमा सर्वोच्च अदालतले ‘स्टेअर्डर’ दिएको थियो । त्यसपछि पनि छिमेकीसँग विवाद गरेर धम्की दिने गरेको आरोप पौडेल विरुद्ध लागेको छ ।
शुक्रबार घरमा सशस्त्र प्रहरीका केही सादा पोशाकका कर्मचारी समेत ल्याएर आफूहरुको परिवार विरुद्ध कुटपिट गरेको छिमेकी कृष्णभक्त श्रेष्ठको आरोप छ । कुटपिटबाट श्रेष्ठ, उनकी पत्नी, जेठा छोरा किरण र कान्छा छोरा शरण घाइते भएका छन् ।
कुटपिट भएपछि श्रेष्ठ परिवारले नेपाल प्रहरीलाई खबर गरेको थियो । प्रहरीले उनीहरुलाई उद्दार गरेर भक्तपुर इन्टरनेश्नल अस्पताल, लोकन्थली भर्ना गरेको श्रेष्ठ बताउँछन् । अस्पतालमा उनीहरुको उपचार जारी छ ।
घटनापछि श्रेष्ठको परिवार जाहेरी दिन जिल्ला प्रहरी परिसर, भक्तपुर पुगे पनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेको कानून व्यवसायी नवराज तिम्सिनाले बताए । उनले भने, ‘कुटपिट भएपछि उहाँले बोलाउनु भएको थियो, जाहेरी दिन जाँदा प्रहरीले आलटाल गर्यो ।’
पछि आफूहरुलाई ढिला गरी प्रहरी वृत्त, ठिमी पठाइ एपनि जाहेरी दर्ता नगरी फर्काइ दिएको उनले बताए ।
जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी प्रजित केसीले घटनाबारे दुवै पक्षबाट जानकारी आएको र विवाद समेत पुरानो भएकाले प्रहरीले बुझ्ने काम गरिरहेको बताए । ‘मैले डीएसपी सा’बलाई पनि बोलाएको छु, उहाँ आउनु भएपछि दुवै पक्षसँग कुरा गरेर निर्णय गर्छौं’, केसीले भने ।
डीएसपी पौडेल विरुद्ध सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा समेत पटक-पटक उजुरी पर्ने गरेको छ । उनी लामो समयदेखि भक्तपुर र काभ्रेमा कार्यरत रहँदै आएका छन् ।
‘जग्गाको विवाद लगायतका घरायसी समस्या देखाएर उहाँ भक्तपुर र काभ्रेमा बस्दै आउनु भएको छ’, सशस्त्र प्रहरी बल प्रधान कार्यालयका एक अधिकृत भन्छन्, ‘उहाँ विरुद्ध यहाँ पनि पटक पटक उजुरी पर्ने गरेको थियो ।’
के हो विवाद ?
भक्तपुरका एसपी केसीका अनुसार पौडेल सहित ३ जना अन्यको घरसम्म जाने बाटोको विवादका कारण यो परिस्थिति सिर्जना भएको हो ।
‘बाटो सम्बन्धी विवाद अदालतमा रहेछ, उहाँहरुको कुरा बाटो खोल्न पाउँ भन्ने रहेछ, अर्को पक्षले त्यो उपभोग गरिरहेको जग्गा रहेछ’, उनले भने, ‘त्यही विषयमा विवाद हुँदा घटना भएको रहेछ ।’घाइते श्रेष्ठका अनुसार, पौडेलको परिवार उनको घर कम्पाण्डको बाटो हुँदै घरसम्म जाने गथ्र्यो ।
‘अलि अगाडि प्लटिङको जग्गामा घर किन्नु भएको थियो, यहाँको बाटोबारे वडा कार्यालय, नगरपालिका, अदालत हुँदै सर्वोच्चसम्म मुद्दा पुगेर स्टेअर्डर जारी भएको थियो’, श्रेष्ठ भन्छन्, ‘त्यही पनि कहिलेकाहीँ हिँड्दा चुप लागेर बस्यौं, तर हिजो उहाँको आमाले विवाद झिकेपछि परिवार ओर्लिँदा सुनियोजित रुपमा धेरै मान्छेहरु ल्याएर कुटपिट गर्ने काम भयो ।’
सम्पत्तिको विषयमा जे जसो भएपनि परिवारलाई कुटपिटमा उत्रिएकोप्रति उनले आपत्ति जनाए । यस्तोमा प्रहरीले समेत सहयोग नगरेको उनको भनाइ छ ।
तर, डीएसपी पौडेल चाहिँ आफ्नो परिवार स्वयम् पीडित भएको बताउँछन् । पौडेल परिवारले श्रेष्ठ परिवार विरुद्ध दिएको जाहेरी प्रहरी वृत्त, ठिमीमा छ ।
‘पहिले उहाँहरुले नै त्यो बाटो प्रयोग गर्न दिने गरी सम्झौता गर्नु भएको हो, अहिले ८ वर्षपछि अर्कै मान्छेलाई दिएको हो, तपाईंहरुलाई दिन्न भनेर भन्न मिल्छ ?’, उनले प्रश्न गरे, ‘उहाँहरुले आफैं ढुंगामुढा गरेर बाटो भत्काउने लगायतका काम गर्दै आउनुभएको थियो, हिजो मेरो बुबा र ममी गएर प्रमाण चाहिन्छ भनेर फोटो र भिडियो खिच्न जानुभएको थियो । त्यसक्रममा उहाँका छोराहरुले गाली गलौज गरेका थिए ।’
त्यसक्रममा छुट्टाउन जानेहरुसँग झम्टिँदा घटना भएको उनले बताए । उनले आफ्नो परिवारका सदस्य पनि घाइते भएको बताए । आफू घटना भएका बेला काभ्रेमा रहेको बताउँदै सशस्त्र प्रहरी समेत ल्याएको थियो भन्दै कपोकल्पित कुरा ल्याएर बदनाम गर्न खोजिएको समेत जिकिर गरे ।
‘छिमेकको कुरा मुद्दा मामिलामा जानु हुने थिएन, मेरो पेशालाई जोडेर संगठनलाई पनि बदनाम गर्ने प्रयास भएको छ’, पौडेले भने, ‘तर, मुद्दा मामिला र विवादमा लगेपछि अब के गर्ने मलाई पनि थाहा छैन ।’
































