मलेसियाको म्याक्स मनीसँग रेमिट्यान्स कारोबार नगर्न राष्ट्र बैंकले फेरि दियो निर्देशन

4.11K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मलेसियाको रेमिट्यान्स कम्पनी म्याक्स मनीसँग कुनै पनि रेमिट्यान्स कारोबार नगर्न पुनः निर्देशन दिएको छ। यसअघि १२ मंसिर २०७५ र २ फागुन २०७५ मा पनि उक्त कम्पनीसँग रेमिट्यान्स कारोबार गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको थियो।

प्रतिबन्ध खोल्दा तोकेका शर्त पुरा नगरेकाले उक्त कम्पनीसँग रेमिट्यान्स कारोबार नगर्न पुनः प्रतिबन्ध लगाइएको राष्ट्र बैंकले एक सूचना जारी गर्दै जनाएको छ।

म्याक्स मनीले विप्रेषण कारोबार बापतको रकम नेपाली इजाजतपत्रप्राप्त निकायलाई भुक्तानी नगरेको राष्ट्र बैंकको भनाइ छ। कुल बक्यौता रकममध्ये आंशिक रकम भुक्तानी गरेपछि ५ माघ २०७६ को उक्त प्रतिबन्ध राष्ट्र बैंकले फुकुवा गरेकोमा प्रतिबन्धका सम्बन्धमा जारी भएका परिपत्र ५ माघ २०७६ मा खारेज भए पनि कम्पनीले प्रतिबन्ध फुकुवा गर्दा तोकिएका शर्त पालना नगरेको राष्ट्र बैंकले जनाएको छ।

सोही कारण अर्को व्यवस्था नभएसम्मका लागि राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनी, अन्य इजाजतपत्र प्राप्त निकायहरू, सरोकारवाला व्यक्ति तथा निकायले म्याक्स मनीसँग बाँकी वक्यौताको भुक्तानी लिने बाहेक कुनै पनि कारोबार नगर्न निर्देशन दिएको सूचनामा उल्लेख छ।

यस्तै नेपालीहरूसँग मलेसियामा रकम संकलन गरी अन्य तेस्रो पक्षमार्फत त्यस्तो रकम नेपाल पठाउने कार्यका लागि तेस्रो पक्षबाट हुने प्रक्रियाको रकम समेत स्वीकार गर्ने तथा भुक्तानी गर्ने व्यवस्था नहुने गरी उक्त कम्पनीसँग रेमिट्यान्स कारोबार नहुने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।

विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग उक्त निर्देशन जारी गरेको राष्ट्र बैंकदले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083