कति छ सैनिक कल्याणकारी कोषको सम्पत्ति ?

5.11K
shares

काठमाडौँ । सैनिक कल्याणकारी कोषको कुल सम्पति रु ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ। उक्त रकममध्ये रु ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैंकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चाैंथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा जानकारी दिइयो।

बाँकी रु छ अर्ब ५५ करोड ४० लाख भने  कोष मातहतका विभिन्न निकायमा लगानी रहेको विवरण प्रस्तुत गरियो।

सेनाका बहालबाला, भूतपूर्वक सैनिक, सकलदर्जा तथा आश्रितसमेत गरी करिब दस लाखको सङ्ख्यामा रहेका हिताधिकारीलाई  उक्त रकमको ब्याजबाट  शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत उपलब्ध गराउँदै आइएको छ। कोषमार्फत सञ्चालनमा रहेका ती कार्यक्रमलाई थप प्रभावकारी र प्रतिफलमूलक बनाउन समयानुकूल विस्तार तथा स्तरोन्नतिका कार्य भइरहेका छन्।

नेपाली सेना शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंङ्घको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त रु एक करोड २४ लाख एक हजारबाट विसं २०३२ मा सैनिक कल्याणकारी कोष स्थापना गरिएको थियो।

बहुजन हिताय : बहुजन सुखाय आदर्श बाक्य रहेको कोषबाट सेनाका  बहालवाल, अवकास प्राप्त सैनिक तथा आश्रित परिवारलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत, बीमालगायत सीप तथा स्वरोगारजस्ता कार्यक्रम सञ्चालन हुदैआएका छन्। कोषको मुख्य आयस्रोत भनेको शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र  सैनिक स्वास्थ्य विज्ञान संस्थान र विद्यालय तथा महाविद्यालयबाट प्राप्त शुल्क रहेको जनाइएको छ।

राष्ट्रसङ्घको आह्वानमा विश्वशान्तिमा धेरै सेना पठाउने मुलुकको बरियातमा नेपाल दोस्रो नम्बरमा छ। नेपाली सेना व्यावसायिक, अनुशासित र सहासिक भएकैकारण द्वन्द्वग्रस्त मुलुकका नागरिकबीचमा लोकप्रिय छ। शान्ति सेनामा धेरै सङ्ख्यामा महिला सैनिक पठाउने सूचीमा भने नेपाल पहिलो नम्बरमै छ।

हाल विश्वका १३ वटा शान्ति मिसनमा पाँच सय ६५ महिलासहित छ हजार ७३ जना नेपाली शान्ति सैनिक खटिएका  छन्। हालसम्म विश्वका विभिन्न मुलुकमा स्थापना भएका ४४ शान्ति मिसनमा रही एक लाख ४५ हजार आठ सय १३  नेपाली शान्ति सैनिकले योगदान पुर्याइसकेका छन्।

सोही क्रममा ७३ जना नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गर्नाका साथै ६६ जना सख्त घाइते भएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083