‘माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगरियोस्’ : वर्षमान पुन

5.69K
shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल र एमालेबिच फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने बताएका छन् । राजधानीमा शनिबार आयोजित माओवादी जनयुद्धका शहीद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरूको सम्मान कार्यक्रममा बोल्दै पुनले विगतको जरा एउटै भएको र कयौँ राजनीतिक एजेन्डामा समानता भएका दुई पार्टी कुनै पनि बेला मिल्न सक्ने बताएका हुन् ।

फेरि मिल्नुपर्ने अवस्था आउन सक्ने भएकाले धेरै टाढा पुगेर माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगर्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे । ‘हिजो हामीले नेकपा बनायौँ । यद्यपि टिकाउन सकिएन, इतिहासले त्यसको समीक्षा गर्दै गर्ला । फेरि पनि कम्युनिस्ट पार्टीहरू मिलेर फेरि पनि ढिलो चाँडो संयुक्त मोर्चा, पार्टी एकता, गठबन्धन या संयुक्त सरकार कुनै पनि रूपमा जाने सम्भावना छ’, पुनले भने, ‘म कमरेड केपी ओली र एमालेका नेताहरूलाई भन्न चाहन्छु धेरै पर गएर आन्दोलनको अपमान नगर्नुस् । हामी त्यसलाई अस्वीकार गर्दछौँ ।’ पुनले दुई जना जनताका छोराछोरीलाई राष्ट्रपति र ओली स्वयंलाई दुई पटक सम्म प्रधानमन्त्री बनाएको नबिर्सन आग्रह गरे ।

पुनले तत्कालीन नेकपाको राजनीतिक प्रतिवेदनमा आफूहरूले तत्कालीन मालेले झापा आन्दोलन हुँदै एमालेमा भएको रूपान्तरण, शान्तिपूर्ण सङ्घर्ष र संसदीय अभ्यासका क्रममा हासिल गरेका शिक्षा तथा अनुभवको स्वामित्व आफूहरूले लिएको र माओवादी जनयुद्धको स्वामित्व तत्कालीन एमालेले लिएको तथ्य जगजाहेर रहेको स्मरण गराए । पुनले काँग्रेसले ००७ साल, ०१८ साल, ०२५÷०२६ सालमा गरी तीनपटक र तत्कालीन माले (हालको एमाले) को नेतृत्वमा ०२८ सालमा र तत्कालीन नेकपा माओवादीको नेतृत्वमा ०५२ सालमा हतियार उठेको इतिहास नबिर्सन सचेत गराए । ती सबै हतियार निरङ्कुश राजतन्त्रको अन्त्य र राज्यको लोकतान्त्रीकरणका लागि भएको स्वीकार गर्न आफूहरूलाई कुनै अप्ठेरो नरहेको बताए । नेपालका मूलधारका प्रमुख तीन दलले कहिले सशस्त्र सङ्घर्ष र कहिले शान्तिपूर्ण सङ्घर्षको माध्यम प्रयोग गरेको भन्दै उनले ०७५ वर्ष लामो सङ्घर्षको प्रतिफल अहिलेको राजनीतिक उपलब्धि भएको उल्लेख गरे ।

No photo description available.

‘हामी सामन्तवाद र राजतन्त्रको अन्त्यका लागि काँग्रेसले र तत्कालीन मालेले हतियार उठाउनु ठिक थियो भन्न सक्छौ’, पुनले भने, ‘जनयुद्धले उठाएका मुद्दाहरु र परिवर्तनलाई साझा सम्पत्ति हो भनेर नेकपाको दस्ताबेजमा स्वीकार गर्ने ओलीजी र एमालेका नेताहरूलाई सबै आन्दोलनहरूको सम्मान गर्न आग्रह गर्न चाहन्छु । तीनवटै ठूला दलले कहिले सशस्त्र र कहिले शान्तिपूर्ण सङ्घर्षको माध्यम प्रयोग गरेका छौँ । परिवर्तनका जस सबै लिने, त्यसको लाभ पनि लिने र समाज रूपान्तरणका लागि महत्त्वपूर्ण योगदान गरेका आन्दोलनहरूको अपमान कसैले पनि गर्नुहुँदैन ।’

धनी र गरिब, गाउँ र सहर, एक जात र अर्को जात, एक धर्म र अर्को धर्म, रोजगार र बेरोजगार, महिला र पुरुष, दलित र गैरदलितबिच विभेद हुन नहुनेमा माओवादी केन्द्र र एमाले एकै ठाउँ रहेको उनले चर्चा गरे । यस्तै माध्यमिक शिक्षा निःशुल्क हुनुपर्ने, सबै नागरिकको स्वास्थ्य, शिक्षा, रोजगारी, गाँस, बास र कपासमा समान पहुँच हुनुपर्नेमा पनि दुई पार्टीबिच सैद्धान्तिक विभेद नरहेको बताए । ‘जब यी सबै कुरामा हामी समान विचार राख्छौँ भने मिलेर जान किन सक्दैनौँ ?’, पुनले भने, ‘म ओलीजी र नेताहरूलाई दूरी बढाउने काम नगर्न आग्रह गर्न चाहन्छु ।’ उनले ००६ सालमा चार संस्थापक मिलेर स्थापना गरेको कम्युनिस्ट पार्टी नै फरक फरक धारमा विभक्त भएकाले मुलुकको हितमा मिलेर काम गर्न समस्या हुनुपर्ने कारण नहरेको बताए । पुनले काँग्रेसले ०१५, ०४८ र ०६५ सालमा बहुमत ल्याएको र कम्युनिस्टहरू ०६४ र ०७० को संविधानसभा र ०७४ को आमनिर्वाचनमा बहुमतमा रहेकामा अहिले किन जनमत घटिरहेको छ भन्नेबारे सबैले सोच्नुपर्ने बेला आएको बताए । ‘०६४ र (७) को संविधानसभामा कम्युनिस्टहरू बहुमतमा थियौँ । ०७४ मा नेकपाको झन्डै दुई तिहाइ उपस्थिति थियो । १६ वर्षपछि अहिले पहिलो पटक संसदमा कम्युनिस्टहरूसँग बहुमत छैन । एमाले, माओवादी, समाजवादी, नेमकिपा र राजमो मिलाउँदा पनि कम्युनिष्टहरुको बहुमत पुग्दैन’, पुनले भने, ‘यो गम्भीर पाटोको समीक्षा गर्नुपर्ने बेलामा अर्को कम्युनिस्ट शक्ति र उसको नेतृत्वमा भएको सफल आन्दोलनको अपमान नगर्न म ओलीजीलाई आग्रह गर्छु ।’

May be an image of 5 people and text

शान्ति प्रक्रियाका बाँकी काम र संविधान रक्षासहित केही साझा एजेन्डामा काँग्रेसँग आफूहरूले सरकारमा सहकार्य गरिरहेको भए पनि एमालेसहित प्रतिपक्षी दलहरूलाई निषेध गर्नुपर्छ भन्नेमा आफ्नो दल नरहेको उनले स्पष्टोक्ति थियो । मुलुकको परराष्ट्र नीति, विकास नीति, सामाजिक रूपान्तरण, विकास र सुशासनका एजेन्डामा सबै दलबीच सहकार्य हुनुपर्नेमा पुनले जोड दिएका थिए ।

May be an image of one or more people, dais and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083