राष्ट्रिय प्रहरी प्रतिष्ठानमा ध्यान कार्यशाला कार्यक्रम सम्पन्न
वि.सं.२०८० पुस २१ शनिवार २०:२१
shares

काठमाडौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अडिटोरियम हलमा ध्यान विज्ञान “ध्यानद्धारा उर्जा जागरण” एक दिवसीय कार्यशालाको समुद्घाटन सम्पन्न भएकाे छ ।
नेपाल सरकार गृह मन्त्रालयको समन्वय तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र जीवन विज्ञान संस्थाले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, जीवन विकास विशेषज्ञ रमेश नेपाल तथा एल.पि. भानु शर्मा, गृह मन्त्रालयका सह-सचिव तुलसी नारायण श्रेष्ठ तथा गृह मन्त्रालयका अन्य उच्च पदस्थ अधिकृतहरु, प्रतिष्ठानमा कार्यरत सिनियर प्रहरी अधिकृतहरु, जिवन विज्ञान संस्थाका सहजकर्ताहरु, राष्ट्रिय समाचार समिती तथा नेपाल टेलीभिजन, प्रहरी प्रधान कार्यालय समाचार कक्षका सञ्चारकर्मीहरु तथा प्रहरी अधिकृत प्रशिक्षार्थीहरु गरी जम्मा २५० जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रमको समुद्धाटन गर्नुहुदै माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग तथा ध्यान मानव जीवनको शक्तिलाई जगाउने तथा ऊर्जामा परिणत गर्ने विधी हो, ध्यान विज्ञान हो, विचलित मनलाई एकाग्र बनाउने तथा आफ्नो वशमा राख्ने विधि नै ध्यान हो । अतः व्यक्तिमा सकारात्मक सोचको विकास गरी आफूलाई चिन्न, बदल्न, असल चरित्रको निर्माण गर्न योग तथा ध्यान विज्ञानले महत्वपूर्ण भुमिका खेल्ने कुरा उल्लेख गर्नुभयो ।
स्वागत मन्तव्य राख्ने क्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक सन्दिप भण्डारीले योग तथा ध्यान जीवनको यात्रा हो, जति योग नियमित गर्यो मानिसलाई खुशी तथा प्रेम भाव दिन्छ र समाज बदल्ने सही सोंचको विकास गर्दछ । यसले जीवनलाई एकीकरण, विविधिकरण र आशावादी बनाउँछ, जुन एउटा स्वस्थ मानिस साथै स्वस्थ प्रहरी बन्न आवश्यक र अनिवार्य छ साथै आजको कार्यक्रमले पक्कै पनि उपस्थित सम्पूर्णमा सकारात्मक धारणाको विकास गरी आफ्नै जीवन भित्र लुकेर बसेको आत्मवल, उर्जा, प्रतिभा, सम्पन्नता, प्रेम, शान्ति, आनन्द र खुशियालीलाई चिनेर प्रकट गर्ने नयाँ यात्राको प्रारम्भ हुनेछ भन्ने विश्वास लिईएको कुरा बताउनु भयो ।
उक्त कार्यक्रममा जीवन विज्ञानका विशेषज्ञ द्वय एल.पी.भानु शर्मा तथा रमेश नेपालले प्रस्तुतीकरण गर्नुका साथै ध्यान कलाको बारेमा सैद्दान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्नु भएको थियो । उहाँहरुले ध्यान विज्ञानका विविध आयामका सम्बन्धमा प्रकाश पार्दै यसले दैनिक जीवनमा पार्ने सकारात्मक प्रभावका सम्बन्धमा समेत चर्चा गर्नु भएकाे थियाे ।

















