नेपाल पत्रकार मञ्चद्वारा पत्रकारिता स्वास्थ्य उपचार कोष खडा गर्ने निर्णय

4.16K
shares

ललितपुर । नेपाल पत्रकार मञ्चको शनिवार गोदावरीमा सम्पन्न केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले पत्रकारिता स्वास्थ्य उपचार कोष खडा गर्ने निर्णय गरेको छ ।

पत्रकारको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले खडा गरिने उक्त कोष निर्माण गर्न मञ्चकी सचिव मनुका कुँवरको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिमा प्रितमसागर कर्माचार्य, पासाङ शेर्पा, देव कुँवर, केशव भट्ट, राजिव भट्टराई, केशव बस्नेत रहेका छन् । उक्त कोषबाट मञ्चमा आबद्ध सदस्यहरुको स्वास्थ्य उपचारमा सहयोग गरिने मञ्चका अध्यक्ष युवराज विद्रोहीले बताए ।

त्यसैगरी बैठकले मञ्चको स्थापना दिवसका अवसरमा हरेक बर्ष एकजना क्रियाशील पत्रकारलाई ‘पत्रकार मञ्च पत्रकारिता’ पुरस्कारबाट सम्मानित गरिने समेत निर्णय गरिएको छ । हरेक बर्ष १ जना क्रियाशील पत्रकारलाई पुरस्कृत गरिने उक्त पुरस्कारको राशी २५ हजार नगदसहित सम्मानपत्र रहनेछ । उक्त पुरस्कारको व्यवस्थापनका लागि मञ्चका उपाध्यक्ष चन्द्रममणि भट्टराईको संयोजकत्वमा महासचिव विमल थापा तथा सदस्य रोयल आचार्य सदस्य रहेको समिति गठन गरिएको छ ।

नेपाल पत्रकार मञ्चले पत्रकारहरुको बृत्ति विकास र क्षमता अभिबृद्धिमा निरन्तर रुपमा विभिन्न तालिम, प्रशिक्षण लगायतका गतिविधिहरु आयोजना गर्दै आएको छ, मञ्चका अध्यक्ष युवराज विद्रोहीले भने, ‘कोभिड–१९ को महामारीका बेला फ्रन्टलाइनमा रहेर काम गर्ने पत्रकारहरुका लागि स्वास्थ्य सामग्री, सुरक्षाका उपाय लगायत आर्थिक र भौतिक सहयोगमा समेत नेपाल पत्रकार मञ्चले महत्वपूर्ण योगदान गरेको छ ।’

बैठकमा नेपाल पत्रकार मञ्चको संस्थागत विकास तथा नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनका बारेमा रणनीतिक छलफल समेत भएको उपाध्यक्ष चन्द्रमणि भट्टराईले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083