गृहसचिव अर्याल र दुवै प्रहरीका आईजीपी अमेरिका प्रस्थान
वि.सं.२०८१ असार १० सोमवार १३:५२
shares

काठमाडौ । गृहसचिव एकनारायण अर्यालसहित दुवै प्रहरी संगठनका प्रमुख अमेरिका प्रस्थान गरेका छन्।
गृहसचिव अर्यालसँगै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुंवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसहित ५ सदस्यीय टोली सोमबार बिहान अमेरिका प्रस्थान गरेको हो।
संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ गतेसम्म संचालन हुने चौथो युनाइटेड नेशन चिफ अफ पुलिस समिटमा सहभागी हुन सुरक्षा प्रमुखहरुको टोली त्यसतर्फ प्रस्थान गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
टोलीमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बस्नेत पनि छन्।
समिटमा शान्ति अभियान तथा द्वन्द्वका सम्भावित क्षेत्रप्रति नयाँ दृष्टिकोण, द्वन्द्व र हिंसा रोकथाम तथा दिगो शान्ति, शान्ति अभियान र शान्ति स्थापनाको सुदृढीकरण लगायतका एजेण्डामा छलफल हुने कार्यक्रम रहेको छ।
सोही अवसरमा गृह सचिव अर्याल समेतको प्रतिनिधि मण्डलले संयुक्त राष्ट्र संघका उपमहासचिवहरू, प्रहरी सल्लाहकार तथा संयुक्त राष्ट्र संघका उच्च पदस्थ अधिकृतहरूसँग छलफल गर्ने छ।
यस्तै टर्की, फ्रान्स, बेलायत, क्यानडा, अमेरिका, दक्षिण कोरिया, नाइजेरिया, घाना लगायत देशका प्रतिनिधिहरूसँग पनि छलफल गर्ने तय भएको छ।
यस क्रममा संयुक्त राष्ट्र संघमा नेपाल प्रहरीको सहभागिता एवम् साझा सुरक्षाको विषयमा छलफल गर्ने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन्।






























