सिन्धुली प्रहरीको नागरिक सहायता कक्ष : सेवाग्राहिलाई सेवासँगै सुविधा !

2.82K
shares

सिन्धुली ।  सिन्धुलीको कमलामाई नगरपालिका ९ का विकाश कार्की आइतबार जिल्ला प्रहरी कार्यालय सिन्धुली भित्रको नागरिक सहायता कक्षमा भाईलाई कुर्दै हुनुहुन्थ्यो । सवारी दुर्घटनाको मिलापत्रको लागि भाइसँग आउनुभएको उहाँ मिलापत्र तयारी गर्न समय लाग्ने भएपछि नागरिक सहायता कक्षमा आउनुभएको थियो । नागरिक सहायता कक्षमा इन्टरनेटको सुविधा भएकाले पर्खन सहज भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “काजपत्र मिलाउन समय लाग्ने रहेछ । भाइ माथी काजपत्र मिलाउँदै छ । काम नसकेसम्म पर्खनु पर्ने भएकाले यहाँ आएको हो । यहाँ नेट साथै फोन पनि चार्ज गर्न मिल्ने रहेछ । नेट भएपछि पर्खन सजिलो पनि भयो ।” नागरिक सहायता कक्षमा सेवाग्राहीलाई सेवासँगै सुविधा रहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँ फ्रि वाईफाईको सुविधा सहित अध्ययनका लागि विभिन्न पुस्तक पनि छ । बस्ने सोफासहित विभिन्न किसिमका पुस्तक साथै फ्रि वार्यफाई र मोबाइल चार्ज गर्ने सुविधा भएकाले म जस्तै अन्य सेवाग्राहीलाई पर्खन धेरै सजिलो भएको छ ।”

सेवाग्राहीलाई सहज साथै छिटो तरिकाले सेवा दिनका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो । कार्यालयमा सेवा लिन आएका सेवाग्राहिलाई सम्बन्धित सेवाका लागि सम्बन्धीत प्रहरी कर्मचारी भेट्ने जानकारी पनि नागरिक सहायता कक्षबाट गराइन्छ । “सेवाग्राहिले लिन आएको सेवा अनुसार सम्बन्धित शाखामा र सम्बन्धित प्रहरी कर्मचारीहरुलाई भेटघाट गर्ने सुझाब साथै सम्बन्धीत शाखा र कोठा नम्बर सहितको भिजिटर कार्ड दिने गरेका छौँ । कार्ड अनुसार सेवाग्राहिले आफुलाई चाहिने सेवाको लागि सिधै सम्बन्धीत शाखामा जानेछन् । यसले गर्दा सहज र छिटो तरिकाले सेवाग्राहिलाई सेवा दिन सकिन्छ ,” उपरीक्षक काफ्लेले भन्नुभयो ।

सेवाग्राहीको काम भए नभएको पृष्ठपोषण लिने गरेको उहाँले बताउनुभयो । सहायता कक्षबाट सचेतनामूलक श्रव्यदृष्य सामाग्री प्रसारणका साथै चेतनामूलक कार्यक्रम तथा नागरिकका गुनासाहरूको सुनुवाइ गरिने पनि उहाँले बताउनुभयो । सेवाग्राहीलाई सहायता कक्षमा तातोचिसो पानी, एसी सहित बस्ने सोफाको सुविधा छ । बालबालिकाको लागि बालगृह समेत स्थापना गरिएको छ । बच्चालाई खेल्न मिल्ने बालमैत्री उद्यान सहित खेल्ने सामान छ ।

यस्तै, नागरिक सहायता कक्षमा प्रहरी साथै नागरिकलाई शैक्षिक ज्ञानको विकास गर्ने उद्देश्य अनुसार पुस्तकालय स्थापना गरिएको छ । प्रहरीले आफ्नो काम सकेपछि पुस्तकालयमा बसेर पढ्न सक्नेगरी अध्ययनको वातावरण समेत बनाइएको एसपी काफ्लेले बताउनुभयो । जिल्लाका प्रत्येक प्रहरीलाई अध्ययनशील बनाउन जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको उहाँले बताउनुभयो । पुस्तकालय आम नागिक र प्रहरी कर्मचारीहरुको लागी खुला रहेको छ । कानुन, उपन्यास, काव्य, कथा लगायत आख्यायन र गैह्र आख्यायन गरी करिब पाँच सय थान पुस्तकसहित स्थापना गरिएको छ । आम सर्वसाधारण पनि कार्यालयभित्र आएर पढ्न पाउने वातावरण बनाइएको उहाँले बताउनुभयो । जिल्लाका विभिन्न व्यक्ति, संघसंस्था साथै स्टेशनरीबाट विभिन्न किसिमका उपलब्ध भएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नागरिक सहायता कक्ष देशभरिकै उत्कृष्ट भएको थियो । नेपाल प्रहरी केन्द्रिय कार्यदक्षता मुल्याकंन २०८१ मा जिल्लाको ७७ वटै जिल्ला प्रहरी कार्यालयमा भएको नागरिक सहायता कक्ष मध्ये सिन्धुली जिल्ला प्रहरीको नागरिक सहायता कक्ष उत्कृष्ट भएको हो ।