एसपी कमल थापासहित ४ जनामाथि थप अनुसन्धान गर्न सरकारी कार्यालयको निर्देशन

2.26K
shares

काठमाडौं । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको घटनामा सरकारी वकिलको कार्यालयले एसपी कमल थापामाथि थप अनुसन्धान गर्नुपर्ने औंल्याएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनु शाहीसहित ६ जना विरुद्ध मुद्दा दायर गर्दै एसपी थापाको हकमा थप अनुसन्धान गर्नुपर्ने सरकारी वकिल कार्यालयले औंल्याएको हो ।

ललितपुर सहकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता भरतकुमार मैनालीले थप अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिइएको बताए ।

‘एसपी थापासहित अन्य व्यक्तिमाथि थप अनुसन्धान गर्न भनेका छौं,’ मैनालीले  भने, ‘यो विषय अभियोगपत्रमा पनि उल्लेख गरेका छौं ।’

मैनालीले भनेजस्तै जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले तयार पारेको अभियोगपत्रमा पनि यस विषयमा उल्लेख गरिएको छ ।

अभियोगपत्रमा ‘प्रतिवादी ताज स्लाम, एसपी कमल थापा, भगवती थापा, खुसी रसाइली र अनिषा कार्कीको हकमा घटना विवरण कागज मिसिलमा संलग्न हुन आएको देखिन्छ । उनीहरूको संलग्नताको सम्बन्धमा थप प्रमाण खुली आएका बखत थप अभियोगपत्र पेस हुने व्यहोरा समेत अनुरोध छ’ उल्लेख गर्दै थप मुद्दा लैजाने बाटो खुल्ला राखिएको छ ।

यता सीआईबीले पनि एसपी थापाको हकमा थप अनुसन्धान भइरहेको जनाएको छ । सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले यो घटनाको अनुसन्धान नसकिएको बताएका छन् ।

थप अनुसन्धान गर्ने भनिएकी मनिषा कार्की भने घटनाका मुख्य योजनाकार ताजको प्रेमिका रहेको खुलेको छ । खुसी रसाइली भने यस्तै अर्को घटनामा प्रयोग गर्न लागिएकी युवती रहेको खुलेको छ ।

प्रतिवादी बनाइएका ६ जनाको हकमा आपराधिक लाभ र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको इजलासमा उक्त मुद्दाको सुनुवाइ सुरु भएको छ ।

यसमा भैंसेपाटी प्रहरी प्रभागका तत्कालीन इन्सपेक्टर बिनुकुमारी शाही र दर्शन पोखरेल फरार प्रतिवादी छन् । पक्राउ प्रतिवादीहरूमा भैंसेपाटीकै सहायक हवल्दार महेन्द्र हमाल, सुनसरीको इटहरीका सुष्मा विक, ताज स्लाम र भीमादेवी थापा छन् ।

यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो । अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत संलग्नता देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो ।

हनी ट्रयापमा पीडित व्यवसायी र प्रतिवादी सुष्मा विकबीच गत साउनदेखि नै चिनजान रहेको देखिएको छ । सुस्मा मोरङको एक होटलमा काम गर्थिन् । त्यसपछि उनीहरू नजिकिएका थिए । सुस्मा र पीडित व्यवसायीबीचको सम्बन्ध थाहा पाएपछि ताजको समूहले सुस्मालाई प्रयोग गरेर रकम असुलेको आरोप छ ।

त्यसका लागि उनीहरूले आफू अनकूल ठाउँको खोजी गरेका थिए । त्यसपछि उनीहरू प्रहरी प्रभाग भैंसेपाटी पुगेको प्रहरीको निष्कर्ष छ । भैंसेपाटीसँग ‘कनेक्सन’ भने एसपी थापाले गराइ दिएको आरोप लागेको छ । यस विषयमा अझै पनि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

हनी ट्रयापमा फसाउने योजना अनुसार सुनसरीबाट ताज र दर्शन जहाजमा र सुष्मा र भीमा गाडी चढेर काठमाडौं आएर ७ असोजमा शान्ति सुरक्षामा असर पारेको भन्दै ती व्यवसायी विरुद्ध प्रहरी प्रभाग भैंसेपाटीमा निवेदन दिएका थिए । त्यसपछि रकम उठाउने खेल सुरु भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

शान्ति सुरक्षाको निवेदन जिल्ला प्रशासन कार्यालय मार्फत प्रहरीकोमा आउनुपर्नेमा सुरुमै प्रहरीमा दर्ता गराइएको थियो । अर्कोतर्फ शान्ति सुरक्षाको निवेदन भनिए पनि आरोपित भनिएका व्यापारीसँग शान्ति सुरक्षा नभई बलात्कारको विषयमा छलफल गराएर रकम असुलिएको खुलेको थियो ।