पर्सा प्रहरीद्धारा ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
वि.सं.२०८१ मंसिर १० सोमवार १६:०९
2.38K
shares
shares

काठमाडौं । तस्करीको आशंकामा प्रहरीले पर्साबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
वीरगन्ज महानगरपालिका-८ घन्टाघर चोकबाट प्रहरीले सोमबार बिहान राति ना ४ ख २१६० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। उक्त ट्रक चितवनतर्फ सामान लिएर जाँदै थियो।
औषधी तथा खुद्रा सामान लोड गरिएको ट्रकमा बिल बिजकभन्दा बढी सामान देखिएको पर्सा प्रहरीका सूचना अधिकारी डिएसपी किशोर लम्सालले बताए।
ट्रकमा ६८ लाख ९१ हजार ४४९ रुपैयाँ बराबरको औषधी र खुद्रा सामान रहेको लम्सालले बताए। ट्रक र सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ।
पर्सा प्रहरी प्रमुखमा एसपी कुमोध ढुंगेल छन्। पर्सा प्रहरीले तस्करी नियन्त्रणमा सफलता पाइरहेको छ।


















