वरिष्ठ अधिवक्ता त्रिपाठीले भने-“नागरिकमाथि गोली चलाउनेलाई कडा कारबाही हुनुपर्छ”
वि.सं.२०८२ कात्तिक ११ मंगलवार १८:५८
shares

रुपन्देही । वरिष्ठ अधिवक्ता डॉ. दिनेश त्रिपाठीले नेपाली नागरिकका सन्तानमाथि गोली चलाउने घटनामा संलग्न उच्च अधिकारीहरूलाई कडा कारबाही गर्नुपर्ने बताएका छन्। रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनका क्रममा निर्दोष नागरिकमाथि गोली चलाउने र त्यसलाई प्रोत्साहन गर्ने तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरूलाई उन्मुक्ति दिन नहुने भन्दै न्यायिक छानबिन र कारबाहीको माग गरेका हुन्।
अधिवक्ता त्रिपाठीले भने, “आम जनताको छोरा–छोरीमाथि गोली चलाउने सरकारले नै अन्तर्राष्ट्रिय मापदण्ड उल्लङ्घन गरेको छ। यस्तो अमानवीय कार्यमा संलग्न जो कोहीलाई पनि राजनीतिक हैसियतको कारणले माफी दिनु न्यायविपरीत हुनेछ।”
उनले थपे, “देशमा शान्ति, न्याय र उत्तरदायित्व कायम गर्न नागरिक अधिकारको रक्षा आवश्यक छ। आन्दोलनलाई दमन गरेर होइन, संवाद र समाधानको बाटोबाट अघि बढ्नुपर्ने हो।”
सो कार्यक्रममा उपभोक्ता मञ्च रुपन्देहीकी उपाध्यक्ष पार्वती भण्डारीले पनि नागरिक समाजले हालको सरकारको उपस्थिति र उत्तरदायित्व महसुस गर्न नसकेको टिप्पणी गरिन्।
उनले भनिन्, “सरकार नागरिकका समस्या र आवाजप्रति बेवास्ता गर्दै आएको छ। जनताको हक हितका विषयमा नागरिक समाजले आवाज उठाउन अझ सशक्त भूमिका खेल्नुपर्छ।”
कार्यक्रममा उपस्थित अन्य वक्ताहरूले पनि देशमा सुशासन, जवाफदेहिता र नागरिक अधिकारको सुनिश्चितताका लागि संयुक्त प्रयास आवश्यक रहेको औंल्याएका थिए।















