कविता : प्रेमशाला
वि.सं.२०८२ मंसिर ७ आइतवार ०८:०५
5.71K
shares
shares
-प्रकाशचन्द्र खतिवडा

तिम्रो भगवानलाई
तिमी नै पूजा गरेर राख
हृदृय भित्र लुकाएर
म आउने छैन
तिम्रो यात्रा रोक्न
तिमी खुल्ला आकाशमा उड
प्रफुल्ल हुने गरी ।
म श्रापित जिन्दगी बेहरौला
मलाई श्राप देउ
तिमीले पाएको वरदानले
मलाई उपहास गर्ला
तिम्रा दुःखहरु हटेर जाउन
म दुःखमै बाँचि दिउँला ।
पिट्टु संगै खेलेका थियौ
बाख्रा चराएर भोकाए पछि
मकै भटमास पनि संगै खाएका थियौ
वनमारा काट्ता काटिएको
तिम्रो औला बाट रगत थाम्न
मेरो टोपी च्यातेर बाँधेका थियौ
विस्मरण हुनै सकेन
तिमीसंग खेलेको कुरा
तिमीलाई पनि याद आउनु पर्ने
पाठशाला जाँदा आउँदा
हात समाई समाई
तरिएको खहरे खोला ।
प्रेमशालामा लेखिएका
पुराना प्रेम पत्रहरु
मैले पढ्नै सकिनँ
माउले छिया छिया बनाए पछि
तिमी संग पनि प्रेम पत्रहरु हुनु पर्ने
सायद, तिनीहरुले तिम्रो बाटो छेक्छ
तिमी संझिएर झस्कदी हौ
प्रेम पत्रहरु डढाइ दिए हुन्छ ।
म संझेर बाँचेको छु
तिमी बिर्सेर हाँसेकी छौ
मेरो गला अवरुद्ध भएको छ
तिमी प्रेमगीतमा रमाई रहेकी छौ
जिन्दगीको यात्रा अनौठो हुन्छ
तिमी जङघार तरिरहेकी छौ
म वगरमा लडि रहेको छु ।
मलाई समयले दल्नु दलेको छ
म शिर उठाउने चेष्टा गर्छु
उठ्दैन शिर
लत्रिन्छ पाउ
प्रेमशाला बन्द छ
दुखिरहन्छ पुरानो घाउ ।
लेखक : कवि प्रकाशचन्द्र खतविडा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर–६ दुलारी, मोरङका हुन् ।














