स्ववियुको पहलमा बानेश्वर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा फिर्ता
लामो समयदेखि अतिक्रमणमा परेको १३ आना जग्गा पुनः क्याम्पसको मातहतमा ल्याउन सफल
वि.सं.२०८२ पुस ११ शुक्रवार १६:२६
shares

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पहल तथा क्याम्पस प्रशासनको सहकार्यमा बानेश्वर बहुमुखी क्याम्पसको लामो समयदेखि अतिक्रमणमा परेको १३ आना जग्गा पुनः क्याम्पसको मातहतमा ल्याउन सफल भएको छ।
विद्यार्थीहरूको हक–हित संरक्षण तथा क्याम्पसको दीर्घकालीन विकासलाई ध्यानमा राख्दै स्ववियुले निरन्तर दबाब, समन्वय र पहल गरेपछि सम्बन्धित निकायको सहयोगमा अतिक्रमित जग्गा फिर्ता गर्न सफल भएको हो।
क्याम्पस प्रशासनले यस पहललाई सकारात्मक कदमको रूपमा लिँदै भविष्यमा शैक्षिक पूर्वाधार विस्तार, खेलमैदान तथा विद्यार्थीमैत्री संरचना निर्माणका लागि उक्त जग्गा उपयोग गरिने जानकारी दिएको छ।

क्याम्पस प्रमुख डा. घमानसिंह खड्काले लामो समयदेखि अतिक्रमणमा परेको क्याम्पसको जग्गा स्वतन्त्र विद्यार्थी युनियनको सक्रिय पहल, निरन्तर समन्वय र जिम्मेवार नेतृत्वका कारण पुनः क्याम्पसको मातहतमा ल्याउन सफल भएकाे बताउनु भयाे। साथै उक्त कार्यमा स्ववियुले देखाएको चासो, प्रतिबद्धता र सक्रियताप्रति क्याम्पस प्रशासनको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नु भयाे।
यस अभियानमा सहयोग पुर्याउनु हुने सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षाकर्मी, क्याम्पस परिवार तथा सचेत विद्यार्थीहरूलाई विशेष धन्यवाद दिदै प्रशासन र विद्यार्थी संगठनबीचको सहकार्यले सकारात्मक परिणाम ल्याउन सक्छ भन्ने उदाहरण आजको उपलब्धिले स्पष्ट गरेको समेत बताउनु भयाे ।
स्ववियु अध्यक्ष भुमिराज अधिकारीले क्याम्पसको जग्गा केवल भौतिक सम्पत्ति मात्र होइन, यो हाम्रो शैक्षिक भविष्य, विद्यार्थीहरूको अवसर र संस्थाको पहिचानसँग जोडिएको विषय रहेको बताउनु भयाे। आज फिर्ता भएको यो जग्गा आगामी दिनमा शैक्षिक पूर्वाधार विस्तार, खेलकुद तथा विद्यार्थीमैत्री संरचना निर्माणका लागि उपयोग गरिने स्ववियू अध्यक्ष अधिकारीले बताउनु भयाे।
अध्यक्ष भुमिराज अधिकारीले अतिक्रमण हटाइनु क्याम्पसको सम्पत्ति संरक्षणतर्फको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसमा सहयोग गर्ने सम्पूर्ण निकाय, प्रशासन तथा विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
यस कदमले बानेश्वर बहुमुखी क्याम्पसको पहिचान, सम्पत्ति सुरक्षा तथा शैक्षिक वातावरण सुदृढ हुने विश्वास लिइएको छ। कार्यक्रममा क्याम्पसका प्रध्यापक, स्ववियु पदाधिकारी, सदस्य विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरु विद्यार्थीहरु लगाएतकाे उपस्थिति रहेकोे थियाे।















