चुनावी अभियानमा ढलेका सिटौलाको अवस्था गम्भीर,काठमाडौं फर्केलगत्तै अस्पताल पुगे बालेन

2.31K
shares

काठमाडौं। चुनावी अभियानका क्रममा अछाममा ढलेर गम्भीर घाइते भएका सञ्चारकर्मी दिनेश सिटौलाको स्वास्थ्य अवस्था जटिल रहेको छ। उपचारका लागि टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएका सिटौलाको अवस्था गम्भीर बनेपछि रास्वपाका वरिष्ठ नेता बालेन शाह शनिबार कर्णाली प्रदेशको यात्रा छोट्याएर काठमाडौं फर्किएका छन्।

शनिबार दिउँसो करिब १२ बजे बालेन ग्राण्डी अस्पताल पुगेर सिटौलाको परिवारसँग भेटघाट गरेका थिए। सिटौलाको अवस्था गम्भीर भएकाले प्रत्यक्ष भेट सम्भव नभएपछि उनले सिटौलाका भाइ उमेश सिटौलासँग भेट गरी बनस्थलीस्थित घण्टीघर पुगेका थिए।

बालेनले सिटौलाको स्वास्थ्य अवस्था जटिल रहेको जानकारी पाएको भन्दै आइतबार बिहान ७ बजेसम्म धैर्य गर्न परिवारका सदस्यलाई आग्रह गरेको बताइएको छ।

चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीका अनुसार ग्राण्डी अस्पतालका चिकित्सकहरूले शनिबार दिनभरिमा सिटौलाको स्वास्थ्य अवस्थाबारे थप जानकारी दिने बताएका छन्। सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्षसमेत हुन्।

बालेनको आग्रहलाई सिटौलाका विदेशबाट फर्किएका दाइले मानेका छन् भने काठमाडौंमै रहेका भाइले भने हालको अवस्थाबारे तुरुन्तै स्पष्ट जानकारी आवश्यक रहेको बताएका छन्।

रास्वपाका नेता मधुसुदन ढकालका अनुसार बालेन केही दिन काठमाडौंमै रहनेछन्। सुर्खेतबाट काठमाडौं फर्कनुअघि बालेनले आफूलाई फोन गरी केही दिन उपत्यकामा रहने जानकारी दिएको ढकालले बताए। ढकाल हाल नुवाकोटमा चुनावी अभियानमा रहेका छन्।

यसैबीच, सुर्खेतबाट बालेनसँगै काठमाडौं आएका कलाकार अर्जुन घिमिरेले बालेन पार्टी सभापति रवि लामिछानेसँग भेटघाटमा रहेको र आपसी सरसल्लाहपछि आगामी कार्यक्रम तथा उपत्यका बाहिरका अभियान तय हुने जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083