आजै एसइईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

1.11K
shares

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सोमबारै सार्वजनिक गर्ने निर्णय गरेको छ।

बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ र सोमबार अपराह्न बसेको बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। “अब एक घन्टाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ,” उनले जानकारी दिइन्।

सरकारले यस वर्षदेखि एसइई नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने घोषणा गरेको थियो। सोहीअनुसार वैशाख २९ लाई मिति तोकिएको भए पनि तयारी समयमै सकिएकाले एक दिनअगावै नतिजा सार्वजनिक गर्न लागिएको हो।

विगतमा करिब तीन महिना लाग्ने एसइई नतिजा यसपटक भने छिटो सार्वजनिक हुन लागेको हो। बालेन शाह नेतृत्वको सरकारले पहिलो पटक एक महिनाभित्र नतिजा ल्याउने अभ्यास गरेको दाबी गरिएको छ। यसअघि नतिजा प्रायः जेठ अन्तिमदेखि असार पहिलो सातासम्म सार्वजनिक हुने गरेको थियो।

यस वर्ष चैत १९ गतेदेखि सुरु भएको परीक्षा चैत २९ गते सम्पन्न भएको थियो। परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी रहेका छन्।

लैङ्गिक आधारमा सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य सात जना विद्यार्थी रहेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083