कोशी प्रदेश ट्राफिक व्यवस्थापन सम्बन्धी “प्रादेशिक गोष्ठी, २०८३” सम्पन्न
वि.सं.२०८३ जेठ १३ बुधवार २२:०२
shares

विराटनगर । कोशी प्रदेश ट्राफिक व्यवस्थापन सम्बन्धी “प्रादेशिक गोष्ठी, २०८३” सम्पन्न भएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाई सवारी दुर्घटना न्यूनीकरण गरी सडक प्रयोगकर्तालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन कोशी प्रदेश ट्राफिक व्यवस्थापन प्रादेशिक गोष्ठी २०८३ को आयोजना गरिएको हाे ।
सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित दुर्गा पार्टी प्यालेसमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा भएको एक दिवसिय गोष्ठीको प्रमुख अतिथि घिमिरेले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि घिमिरेले ट्राफिक नियम सवैले जान्नु पर्ने तर जान्नेले पनि नमानेको कारण दुर्घटनाको संख्यामा बृद्धि भएको बताउदै अव कोशी प्रदेशमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्नु गोष्ठीको मुख्य उद्धेश्य रहेको बताउनु भयो । गोष्ठीमा दुर्घटना न्यूनीकरणको लागी सरोकारवाला निकायहरुसंग भएका छलफल अन्तरक्रिया, योजनालाई कार्ययोजना बनाई कार्यान्वयन गरीने बताउनु हुदै गोष्ठीको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौँका प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीले नेपालको सवारी दुर्घटनाको स्थिति भयावह रहेको तथ्याङ्क प्रस्तुत गर्नु हुदै सडकलाई सुरक्षित बनाउन पुर्वाधार युक्त सडक, दक्ष चालक, दुरुस्त सवारी हुनु पर्ने बताउदै ट्राफिक प्रहरी कार्य सम्बन्धी चुनौती र सुधारका प्रयासहरुका बारेमा प्रस्तुति गर्नु भएको थयो ।
कार्यकर्ममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले कार्य सम्पादन र अटोमेसन प्रणालीमा प्रभावकारीता एवं कोशी प्रदेशको समग्र ट्राफिक प्रहरी कार्य सम्बन्धी चुनौती र सुधारका प्रयासहरु विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले गोष्टीमा उपस्थित प्रमुख अतिथि लगायत सम्पूर्णमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
गोष्ठीमा कोशी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय, यातायात व्यवस्था महाशाखाका प्रमुख उर्मिला निरौला, स्थानिय जनप्रतिनिधिहरु,यातायात व्यावसायी, पत्रकार महासंघ सुनसरीका प्रतिनिधि लगायत विभिन्न सरोकारवाला निकायहरुले ट्राफिक व्यवस्थापन सम्बन्धी गोष्ठीको शुभकामना सहितको आ- आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । गोष्ठीमा जिल्ला ट्राफिक प्रहरी प्रमुखहरुले सवारी दुर्घटना न्यूनीकरण कार्ययोजना र कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन, कानुन विपरित कार्य गर्ने सवारी चालकहरुको सवारी अनुमति निलम्वन गर्ने कार्यलाई प्रभावकारी कार्यान्वयन, दुर्घटनामा घाइते र मृत्यु दर घटाउन ट्राफिक प्रहरीको योगदान, हराएका सवारी साधनहरुको खोजी, मापसे र लापसेको प्रभावकारी चेकिङ र अन्य सम्बन्धित Stakeholder हरुसँग समन्वय र सहकार्य लगायतको विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । गोष्ठीमा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन प्रणालीको विकासमा जोड दिनु पर्ने बताउदै गोष्ठीको प्रभावकारीताको शुभकामना सहित समापन मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रभावकारी तथा परिणाममुखी ट्राफिक व्यवस्थापन, ट्राफिक प्रहरी युनिटहरूबीच तथा यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी युनिटहरूबीच समन्वय र सहकार्य अभिवृद्धि, दुर्घटना न्यूनीकरणका लागि एकीकृत कार्ययोजना निर्माण तथा कार्यान्वयन, सूचना आदान–प्रदान, यातायात व्यवस्था ऐन तथा नियमावली एवं प्रदेश यातायात व्यवस्था ऐन तथा नियमावली सम्बन्धी जानकारी आदान–प्रदान, कानुनी प्रावधानहरूको कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका उपाय, दुर्घटना न्यूनीकरणमा रहेका चुनौतीहरू, सडक सुरक्षा सुदृढीकरण, जनचेतना अभिवृद्धि, प्रविधिको विस्तार, क्षमता अभिवृद्धि तथा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौतीहरूका विषयमा छलफल, अन्तरक्रिया तथा अनुभव आदान–प्रदान गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको छ ।
गोष्ठीमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीका प्रहरी उपरीक्षकहरु, सवारी यातायात शाखा, यातायात व्यवस्था कार्यालय इटहरी, यान्त्रिक कार्यालय इटहरी, सडक विभाग, सडक आयोजना, बिमा संस्थान, यातायात व्यवसायी, १४ वटै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रतिनिधि/ ट्राफिकका प्रमुखहरु, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, यातायात व्यवसायी, ड्राईभिङ्ग स्कुल, यातायात मजदुर संघ संगठन, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायत प्रहरी कर्मचारीहरु समेत गरी २ सय जना भन्दा बढीको उपस्थिति रहेको थियो ।





























