अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई आगामी बजेटबारे जानकारी
वि.सं.२०८३ जेठ १४ बिहीवार २०:५६
shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे जानकारी गराएका छन् ।
बिहीबार अपराह्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सम्बन्धी जानकारी राष्ट्रपति पौडेललाई गराएका हुन् ।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण २०८२/८३ तथा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरेका छन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेट शुक्रबार जेठ १५ गते अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. वाग्लेले संसद्मा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
अर्थ मन्त्रालयका अनुसार बजेट निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सरकारले आगामी बजेटमार्फत आर्थिक सुधार, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने तयारी गरेको जनाएको छ ।




























