सरकारको बजेटले अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्रको विश्वास
वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:५६
shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सुधारमुखी नीति तथा कार्यक्रम कार्यान्वयनका आधारमा अर्थतन्त्रमा सकारात्मक विस्तार हुने विश्वास व्यक्त गरेका हुन् ।
सरकारले आगामी वर्ष मुद्रास्फीति दरलाई पनि छ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिएको छ । बजेटमा उल्लेख गरिएका नीतिगत सुधारलाई प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले पनि त्यसअनुकूल मौद्रिक नीति ल्याउने अपेक्षा गरिएको छ ।
अर्थमन्त्री वाग्लेले सुशासन, सदाचार र समतामूलक समृद्धिलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताए । उनले आगामी पाँच वर्षभित्र नेपाललाई सुशासित, समुन्नत र आत्मनिर्भर राष्ट्रका रूपमा अघि बढाउने लक्ष्यसहित कार्यक्रम ल्याइएको उल्लेख गरे ।
सरकारले ऊर्जा, कृषि, उद्योग, पर्यटन, सूचना प्रविधि, वन तथा मानव पुँजी विकासलाई आगामी दशकको आर्थिक समृद्धिका मुख्य आधार क्षेत्रका रूपमा अघि सारेको छ । यी क्षेत्रमार्फत अर्थतन्त्रमा संरचनात्मक सुधारको नयाँ चरण सुरु गर्ने लक्ष्य बजेटले लिएको छ ।
बजेटले निजी क्षेत्रको आत्मविश्वास बढाउने, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र जवाफदेही बनाउने तथा उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने सरकारको दाबी छ ।
अर्थमन्त्री वाग्लेले कर प्रणालीलाई थप सरल, न्यायोचित र उत्पादनमुखी बनाउने दिशामा सरकारले कदम चालेको पनि बताए । उनका अनुसार बजेट केवल खर्चको दस्तावेज नभई आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको प्रतिबद्धताको प्रारम्भिक आधार हो ।




























